जुम्ला अनशनरत डा.केसीको जीवनरक्षा गर्दै जायज माग पूरा गर्न कांग्रेसको अपिल

काठमाडौँ,असोज ३। जुम्ला अनशनरत डा.गोविन्द केसीको जीवनरक्षा गर्दै जायज मागहरु पूरा गर्न कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।  

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत चिकित्सा शिक्षा क्षेत्रमा सुधारका लागि विगतदेखि नै सत्याग्रहमा सरिक अभियन्ता डा.गोविन्द केसीको पछिल्लो अनशन एक साता पुग्न लाग्दा पनि सरकारले संवादको कुनै पहल नगरेको भन्दै कांग्रेसले गम्भीरतापूर्वक लिएको बताएका छन् ।

 

०७५ साउन १० गते प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा.केसीसँग सरकारले गरेको सम्झौता त्यही वर्षको माघमा सरकारले उल्लंघन गरेको नजिर नदोहोर्‍याएर ‘इमानदार वार्ता र सार्थक कार्यान्वयनका लागि कांग्रेसले सरकार समक्ष माग गरेको छ ।

 

कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान देखि राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानसम्मको माग अघि सारेर अनशनरत डा. केसीसँग संवाद गरेर उनको जीवनलाई जोखिमबाट जोगाउँदै जायज मागहरु पूरा गर्न कांग्रेसले संघीय सरकार र कर्णालीको प्रदेश सरकार दुवैलाई आग्रह गरेको छ।