जुम्लामा अनशनरत डा. केसी : काठमाडौं आएर अनशन बस्दै

काठमाडौं,असोज ६ ।जुम्लामा चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशन बस्नुभएका डा.गोविन्द केसी काठमाडौं आएर अनशन बस्ने हुनुभएको छ ।

 

उहाँले एक विज्ञप्ति जारी गर्दै जुम्लामा हिंसा वा तोडफोड हुन सक्ने भएकाले काठमाडौंमै आएर अनशन बस्न लागेको जानकारी दिनुभएको हो । उहाँ सोमबार समिट एयरबाट नेपालगञ्ज आउनुभएको थियो ।

 

मंगलबार जहाजबाट काठमाडौं आउने डा. केसीका एक सहयोगीले जानकारी दिनुभयो । अनशनरत डा। केसीले माग पूरा नभएसम्म अनशन नटुंगिने अडान कायम नै राख्नुभएको छ ।

 

जुम्लाको चन्दननाथ– ६, रानीचौरमा रहेको बाबिरा मन्दिरमा अनशन बस्नुभएका डा.केसीलाई शनिबार राति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सारिएको थियो । डा .केसीले उपचार गर्न मान्नुभएको थिएन ।

 

डा. केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘दुई वर्षअगाडि हामी सत्याग्रहमा रहेकै कारणले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा जसरी राज्यले आतंक फैलाउँदै हिंसा र तोडफोड ग-यो, अहिले पनि केन्द्रदेखि प्रदेश सरकारसम्म उनै पात्रहरू पदमा छन् ।

 

त्यसैले फेरि त्यसै खालको हिंसा र आक्रमण नहोस् भनेर हामीले जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर उहींबाट सत्याग्रह जारी राख्ने निर्णय गरेका छौं ।’ अनशन बसेको एक साता बितिसक्दा पनि सरकारले माग पूरा गर्न कुनै पहल नगरेको विज्ञप्तिमा उल्लेख छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पु-याएर एमबिबिएसलगायतका कार्यक्रमहरू सञ्चालन गर्न, गेटा मेडिकल कलेज र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पु-याएर पठनपाठन सुरु गनुपर्ने, प्रदेश नं. दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउन अनशनरत डा.केसीले माग गर्नुभएको छ उहाँले ६ बुँदे माग राखी भदौं २९ गतेदेखि अनशन सुरु गर्नुभएको हो ।