आज बडादशैँको मुख्य दिन विजयादशमी: मान्यजनबाट टीका-जमरा ग्रहण गरी मनाइँदै

काठमाडौं,कार्तिक १० । आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरूको महान् चाड विजयादशमी ।
मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरुप रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लाससाथ विजयादशमी मनाइँदैछ ।

 

हिन्दू धर्मालम्बीहरुले आजको दिन आफ्ना मान्यजन तथा अग्रज अभिभावकबाट दुर्गा भवानीको प्रसादस्वरुप टीका, जमरा लगाई विजयादशमी मनाउँछन् ।

 

विजयादशमीमा घटस्थापनाको दिन पूजाकोठा तथा दशैंघरमा नौ दिनसम्म पूजा गरी राखेको पहेँलो जमरा र रातो टीकासँगै ग्रहण गर्ने प्रचलन छ ।

 

नेपाल पञ्चाङ्ग निर्णायक समितका अनुसार यो वर्षको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर १९ मिनटेमा छ । देवी विर्सजनको साइत भने बिहान १० बजेर ११ मिनेटमा छ ।

 

विजयादशमी आफैंँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नुनपर्ने समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ ।

 

आज विजयादशमीको दिन चन्द्रमा कुम्भ राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पश्चिम फर्कनुपर्छ । टीका लगाइदिनेले भने पूर्व फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ ।

 

आज बडादशैंको मुख्य दिन भए पनि टीका लगाउने क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म नै जारी रहन्छ । देशका पश्चिम भेगमा भने आजको दिनमात्र टीका लगाउने प्रचलन छ । कोजाग्रत पूर्णिमाका दिन महालक्ष्मीको व्रत बसी पूजा गरेपछि दशैं पर्व समापन हुन्छ ।

 

असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतिकका रुपमा मनाइने विजयादशमी बडादशैंकै सबैभन्दा महत्वपूर्ण दिन हो ।

 

आजको दिन परिवारका आफू भन्दा ठूला मान्यजनको हातबाट टीका लगाई उहाँहरुबाट, ऐश्वर्य, बुद्धि र दीर्घायु प्राप्तिको आशीर्वाद लिने गरिन्छ ।

 

आजदेखि पूर्णिमासम्म मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी लगाइन्छ ।

 

दशैंका अवसरमा नयाँ लुगा लगाउने, आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रंगरोगन गर्ने प्रचलन पनि छ । दशैं पर्वले काम, क्रोध, लोभ, मोह, अहंकार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ ।

 

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले असत्यको प्रतीक रावणमाथि आजकै दिन विजय प्राप्त गरेकाले सोही समयदेखि विजयादशमी मनाउन थालिएको धार्मिक विश्वास छ । आजकै दिन मौर्यसम्राट् अशोकले शस्त्रास्त्र परित्याग गरेकाले बौद्धहरु शस्त्रपरित्याग दिवस मनाउँछन् ।

 

कोरोना महामारीका कारण यो वर्षको दशैं विगतभन्दा फरक छ । विगतका दशैंमा जस्तो रौनक छैन । कोरोना जोखिमका कारण एकाघरका परिवारसँग मात्र दशैं मनाउने वाध्यता छ ।