बालिका हत्याको दोषी र फासिवादी प्रहरी दमनमा संलग्नलाई हदैसम्मको कारबाही गर्न अनेमसंघ (क्रान्तिकारी)को जोडदार माग (वक्तव्यसहित)

काठमाडौं,मंसिर १०। नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले एक वक्तव्य जारी गरी ६ बर्षीया बालिकाको अपहरण, बलात्कार गरी हत्यामा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न जोडदार माग गरेको छ । र, पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न समेत माग गरेको छ ।

अनेमसंघ (क्रान्तिकारी) की अध्यक्ष अम्बिका मुडभरीले बुधबार एक वक्तव्य जारी गरी अबोध बालिकालाई अपहरण, बलात्कार र हत्या गर्नेसम्मको निकृष्ट अपराध विरुद्धमा उठेको जनआक्रोशलाई सम्बोधन गर्नुका सट्टा राज्य फासिवादी दमनको घोर विरोध एवम् भत्र्सना गर्नुभएको छ । वक्तव्यमा प्रहरीको गोली लागेर गम्भिर घाइते बुद्धिराज न्यौपाने ‘संजय’को उपचारको क्रममा मृत्यु भएको भन्दै दमनमा संलग्न दोषीलाई कडा कारबाहीको जोडदार माग गरिएको छ । र, मृतक न्यौपानेलाई सहिद घोषणा गर्न समेत जोडदार माग गरिएको छ । साथै, अन्य घाइतेहरुको निःशुल्क उपचारको माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना समेत गरिएको छ ।

वक्तव्यमा भनिएको छ,

“मंसिर ८ गते अपहरण गरेर बलात्कार गरी हत्या गरेर फालिएको अवस्थामा फेला परेकी बर्दिबास नगरपालिका वडा नम्बर–१४ का शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याले हाम्रो संगठनलाई स्तब्ध तुल्याएको छ ।

नेपाली समाजमा बालिका महिला बलात्कारका श्रृङ्खलाबद्ध घटनाले आम नेपाली महिलाहरुलाई गम्भिर, लज्जाबोध र आक्रोशित बनाएको छ। हिंसा नियन्त्रणमा राज्यको उदासिनता र बढ्दो दण्डहिनताले अपराध दिनानुदिन बढेर गएको छ । हाम्रो संगठन उक्त घटनामा संलग्न अपराधीलाई हदैसम्मको कारबाही गर्न र पीडित परिवारलाई उचित राहतको व्यवस्था गर्न जोडदार माग गर्दछ ।

अबोध बालिकालाई अपहरण, बलात्कार र हत्या गर्नेसम्मको निकृष्ट अपराध विरुद्धमा उठेको जनआक्रोशलाई सम्बोधन गर्नुका सट्टा राज्य फासिवादी दमनमा उत्रिएको छ । प्रहरीको गोली लागेर गम्भिर घाइते बुद्धिराज न्यौपाने ‘संजय’को उपचारको क्रममा मृत्यु भएको छ ।

हाम्रो संगठन यसप्रकारको राज्यको फासिवादी प्रहरी दमनको घोर विरोध एवम् भत्र्सना गर्दछ र दोषीलाई कडा कारबाहीको जोडदार माग गर्दछ । र, मृतक न्यौपानेलाई सहिद घोषणा गर्न समेत जोडदार माग गर्दछ । साथै, अन्य घाइतेहरुको निःशुल्क उपचारको माग गर्दै शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

राज्यको यस प्रकारको फासिवादी दमनकारी नीति र अपराध नियन्त्रणमा देखिएको उदासिनताका विरुद्ध सशक्त प्रतिरोध आन्दोलनमा जुट्न आम उत्पीडित महिलाहरु र जनसमुदायमा हार्दिक अपिल समेत गर्दछौं ।

 

यसैबीच, बर्दिबासमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । बर्दिबास नगरपालिका वडा नम्बर–१४ की शहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको हत्याको विरोधका क्रममा भएको प्रदर्शनमा अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

 

मंगलबार प्रदर्शनका क्रममा घाइते भएका बुद्धिराज न्यौपाने ‘संजय’को काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ ।हेलिकप्टरबाट काठमाडौँ ल्याइएका उनको उपचारको क्रममा ग्रान्डी अस्पतालमा मृत्यु भएको हो । उपचारको क्रममा गएराति मृत्यु भएको ग्रान्डी अस्पतालले जनाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले पूर्वमा रातुखोला, पश्चिममा बर्दिबास माइस्थान, उत्तरमा बर्दिबास ३ पाटु र दक्षिणमा रामानन्द चोक चार किल्ला कायम गरेर निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

बर्दिबास नगरापालिका–१ घर भएका ४२ वर्षीय न्यौपानेको कम्मरममुनी गोली लागेको थियो । प्रहरीको गोली लागेर घाइते भएका श्याम कार्कीको भने उपचार भइरहेको छ ।