म्यानपावर व्यवसायीको ठगी धन्दा र दादागिरी : पैसा फिर्ता माग्दा पीडित कुटिए

काठमाडौं,मंसिर १६ । कोरोना महामारीका कारण आफ्नो धन्दा चलाउन नपाएका म्यानपावर ब्यवसायीहरु फेरि ठगी धन्दामा उस्तै गरी सक्रिय भएका छन् । आउँदै नआएको डिमान्ड देखाएर होस वा विभिन्न प्रलोभनमा पारेर उनीहरु बेरोजगार युवालाई धमाधम ठगीराखेका छन् ।

 

कतार प्रहरीमा जागिर लगाइदिने भन्दै केहि म्यानपावर कम्पनीले प्रतिब्यक्ति ८ देखि १२ लाख रुपैयाँसम्म युवाहरुसँग असुलेको भेटिएको छ । वैदेशिक रोजगार ऐनअनुसार कामदार भर्नालाई पारदर्शी बनाउन अनिवार्य सार्वजनिक सूचना जारी गर्नुपर्छ ।

 

सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट मागपत्र प्रमाणीकरण गरी विभागबाट पूर्वस्वीकृति लिई राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी भएको ७ दिनपछि मात्रै तोकिएको दिन अन्तर्वार्ता गर्नुपर्छ ।

 

तर ठूला भनिएका एसओएस म्यानपावर सर्भिस, डीडी ह्युमन रिसोर्स, होप इन्टरनेसनल र अल–थाक्वेत ओभरसिज नेपालले बीना सुचना बीना स्वीकृति कतार प्रहरीका लागि भन्दै धमाधम युवासँग अन्तरवार्ता लिने र प्रतिब्यक्ति ८ देखि १२ लाख रुपैयाँसम्म असुल्ने गरेको वैदेशिक रोजगार विभागले जनाएकाे छ। म्यानपावरमा छापा मार्ने क्रममा त्यस्ताे भेटिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दहालले बताउनु भयो ।

 

कतार प्रहरीमा भर्ना खुल्यो भन्दै महामारीका बेला म्यानपावर कम्पनीहरुले हजारौं युवासँग लाखौ रुपैयाँ मात्रै असुलेका छैनन् । कयौंलाई पैसा लिएपछि विजोग बनाएर समेत छाडेका छन् । र, यो उनीहरुको पुरानै धन्दा हो ।

सेक्युरिटी गार्डका लागि दुबई उड्दा झण्डै ज्यानै गएन  

सिन्धुलीको कमलामाई नगरपालिका घर भएका स्रोत श्रेष्ठलाई युनाइटेड मेनपावर कम्पनीले सेक्युरिटी गार्डका लागि भन्दै ३ लाख ५० रुपैयाँ लिएर दुबई उडाएको थियो । तर, उनलाई दुबईमा काम लगाउने त परको कुरा ६ महिनासम्म करिब नजर बन्दको अवस्थामा राखियो ।

 

खान बस्नको कुनै ठेगान भएन । श्रेष्ठ भन्छन्–केहि कमाउला र परिवारमा खुसी ल्याउला भनेर ऋण काटेर विदेश गएको थिए । म्यानपावर कम्पनीले पैसा नि खायो जीवन पनि झन्डै सकिदियो ।

 

३ लाख ५० दिएर दुबई उडेका स्रोत अनेकन उपाय अपनाएर बल्लतल्ल स्वदेश फर्किए । देश आउने बित्तिकै म्यानपावर कम्पनीमा आफ्नो पैसा माग्न गएका उनलाई सिधै म्यानपावरका सञ्चालकले चिन्दिनँ भनिदिए ।

यतिमात्रै होइन स्रोत भन्छन्– म्यानपावरका सञ्चालकले ढोका थुनेर कुटौला झै गर्दै तैंले के खोजेको भनेर समेत धम्की दिए ।

मोरिसस जाने सपना डेढ वर्षदेखि अधुरै  

बेलका नगरपालिका–१ उदयपुरका बिपिन खड्काले डेढ वर्षअघि मोरिसस जान भन्दै ग्रिन नेपाल नामक म्यानपावर कम्पनीलाई पहिलो चरणमा ५० हजार बुझाएका थिए ।

 

उनीसहित ५ जनाले २ लाख ५० हजार एकमुष्ट कम्पनीका एजेन्ट कुमार नेपाललाई बुझाएका थिए । तर, रकम बुझाएको ६ महिनासम्म कुनै काम नभएपछि उनीहरु ठगिएको महसुस गर्न थाले । 

 

पैसा फिर्ता मागे । तर, पैसा दिन त परेको कुरा सम्पर्कमा समेत आएनन् एजेन्ट कुमार नेपाल । पैसा पनि गुम्ने देखिएपछि पीडित खड्कासहितको टोलीले वैदेशिक रोजगार विभागमा उजुरी गरेको छ ।

 

म्यानपावर कम्पनी र यसका एजेन्टका कारण को बद्मासीका बिपिन र स्रोतजस्ता हजारौं युवा ठगिएका छन् । परिवार पाल्न र घर धान्न विदेश जान खोजेका कयौं युवा घर न घाटको अवस्थामा पुगेका छन् ।

 

अवस्था यस्तो बन्दा समेत वैदेशिक रोजगार व्यवसायी संघ कानून विपरित केहि नगरेको र गरेको भेटे कारबाही गर्न चुनौती दिन्छ । संघका अध्यक्ष विष्णु गैरे आफूबाट कुनै ठगी नभएको दाबी गर्छन् ।

 

सेटिङ मिलाएर ठगी गर्ने म्यानपावर कम्पनीहरु १० हजार भन्दा बढीको बिल नै दिदैनन् । खाडी मुलुक जहाँ फ्रि भिसा फ्रि टिकट लागू भएको छ।

 

त्यहाँ पठाउँदा उनीहरुले कम्तिमा २ देखि ३ लाखसम्म लिने गरेका छन् । पैसा टन्न असुल्ने तर बिल जम्मा १० हजारको मात्रै दिने गर्दा पीडितले उजुरी गर्दासमेत पैसा पाउने सम्भावना कमजोर बन्ने गरेको छ।