एसइई परीक्षा र अगामी शैक्षिक सत्र अझै अन्योलमा: जेठसम्म परीक्षा सर्न सक्ने संकेत

काठमाडौं,मंसिर २४। कोरोना संक्रमणको उच्च जोखिम अर्कोतर्फ समयमा निर्णयको अभावका कारण २०७७ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) संचालनै अन्योल बनेको छ।

 

करिब ५ लाख विद्यार्थीसँग सम्बन्ध राख्ने एसइई परीक्षा कसले संचालन गर्ने अहिलेसम्म निर्णय हुन नसक्दा परीक्षा संचालन तयारीमै ढिलाई उत्पन्न भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

 

विगतका वर्षहरुको अनुभव हेर्दा चैत्र पहिलो साता संचालन हुने एसइईको परीक्षाकोलागि भदौमा विद्यार्थीले फारम भर्ने र मंसिरमा प्रश्नपत्र बनाउने, मोडुलेसन गर्ने तथा पुसमा छपाईको तयारीको काम हुने गरेको थियो। तर यो वर्ष हालसम्म विद्यालयहरुले विद्यार्थीसँग परीक्षा फारम भराएका छैनन।

 

पुलचोकमा रहेको त्रिपद्म माविका सहप्राध्यापक विष्णु घिमिरेले कक्षा १० का विद्यार्थीलाई वैकल्पिक माध्यमबाट पठनपाठन असारबाटै संचालन गराइएको तर सबैलाई अनलाइन शिक्षाले समेट्न नसकेको बताए।

 

उनले केन्द्रले स्थानीय तह र स्थानीय तहले केन्द्रलाई देखाउने गरेकोले शिक्षा क्षेत्रनै लथालिङ बनेको जनाए। ‘पुस लाग्न लागिसक्यो परीक्षा बोर्डको निर्देशन नआएकोले हामीले विद्यार्थीसँग परीक्षा फारम भराएका छैनौं ,’ सहप्रधानाध्यापक घिमिरेले भने‘परीक्षा कसले लिने कुनै टुँगो अझै भएको छैन।

 

समयमै निर्णय गर्न नसकेको कारण शिक्षा क्षेत्रनै लथालिङ बन्दै गएको छ।’उनले थपे‘ सथानीय तहले समेत चासो नदिँदा ०७७ को एसइई अन्योल बनेको छ।’

 

०७६ सालको एसइई परीक्षा कोभिडका कारण बाधा अड्काउफुकाउको रुपमा रहेकोले स्कुलमै संचालन गर्न सरकारले अनुमति दिएको थियो।

 

तर यो वर्ष परीक्षा राष्ट्रिय परीक्षा बोर्ड कक्षा १०को परीक्षा नियन्त्रण कार्यालयले वा प्रदेशले वा स्कुलले कसले गर्ने बारे कुनै निर्णय भइनसकेकोले परीक्षा संचालनमा अन्योल बनेको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलले बताए।

 

उनले परीक्षाबारे छिटो निकास दिन सुझावसहितको पत्रचार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई गत आइतबारै लेखि पठाएको र हालसम्म कुनै निर्णय नभएको जनाए।

 

शिक्षा नितिले एसइई प्रदेशले लिने ब्यवस्था गरेको छ भने संसदीय समितिले स्कुललाई दिनु पर्ने गरेको निर्देशनका कारण अन्योल बढ्दै गएको हो।

 

‘बोर्डले ०७७ सालको परीक्षा कसले लिने , शैक्षिक क्यालेन्डर कहिले हुनेलगाएतका विषयहरुमा पत्रचार गरेको छ,’ अध्यक्ष पौडेलले भने ‘स्कुललाई दिन कानूनै बनाएर जानु पर्छ।उनले थपे ‘मन्त्रालयले पनि प्रदेशलाई दिने तयारी गरिरकेको छ। एसइई संचालनमा अन्योल बनेको छ।

 

हालसम्म विद्यार्थीले फारम नभरेकोले कुन विषयमा कति विद्यार्थी छन् निश्चित नभएकोले प्रश्नपत्र बनाउन र मोडुलेसन गर्न समस्या भएको हो।’ उनले मन्त्रालयले ततकाल निर्णय नगरे परीक्षा तयारी र संचालनकोलागि चुनौति थपिने चेताए।

 

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले शिक्षा ऐनको आठौं संशोधन कक्षा १० का अन्तिम परीक्षा प्रदेशले संचालन गर्ने उल्लेख गरेको बताउँदै उनले स्कुललाई दिनु पर्दा शिक्षा ऐननै संशोधन गर्नु पर्ने बताए।

 

उनले कोभिडका कारण विद्यार्थीको पठनपाठन पुरा नभएकोले कोर्ष पुरा गर्न नसकेको स्कुलहरुको गुनासो रहेको समेत जनाए। उनले बोर्डले पठाएको पत्रमा मन्त्तालयले छलफल अघि बढाएको जनाए।

 

स्कुलले एसइई संचालन गर्दा नेपाली विषयमा ८ सय विद्यार्थीको पूर्ण पूर्णाक आउँदा परीक्षाको निकै आलोचना मन्त्रालयले खेप्नु परेको तितो यर्थाथ कायमै छ, प्रवक्ता शर्माले भने‘विद्यार्थीको पठनपाठन पुरा नभएकोले एसइई परीक्षा जेठमा सार्नु पर्ने बहस समेत मन्त्रालयमा उठेको छ।

 

यति मात्र होइन अगामी शैक्षिक सत्र जेठमा सर्ने संभावना छ।’उनले थपे ‘मन्त्रालयले सरोकारवालाहरुसँग छलफल गरेर परीक्षाको विकल्पहरुमा तिर्व छलफल गरिरहेको छ। छिटै टुंगिने छ।