कोरोनाको जोखिम बढेपछि बन्द विद्यालय लगायत सबै क्षेत्र १० महिनापछि खुल्दै

काठमाडौं,पुस २०। कोभिड नियन्त्रणसम्बन्धी उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी)ले संक्रमणको जोखिमका कारण बन्द गरिएका सबै क्षेत्र खुला गर्ने निर्णय गरेको छ।

 

आइतबार बसेको सीसीएमसीको बैठकले यस्तो निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए । यद्यपि, यो निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ।

 

त्यसपछि बन्द विद्यालय, मनोरञ्जनका क्षेत्रलगायत खुल्न बाँकी क्षेत्र खोल्न पाइनेछ। यसअघिका निर्णयहरूमा होटल व्यवसाय, यातायात, हवाई सेवालगायतका क्षेत्र खुला गरिए पनि शैक्षिक क्षेत्र, मनोरञ्जन, जिमखाना, पुस्तकालयलगायत क्षेत्र खुलाइएको थिएन।

 

विश्वभरि महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) का कारण करिब १० महिनादेखि बन्द विद्यालयहरू अब खुल्ने भएका छन् । सरकारले गत चैत २०७६ बाट बन्द भएका विद्यालय खुलाउने तयारी गरेको हो ।

 

विद्यालयहरू चैतदेखि बन्द हुँदा विद्यार्थीको पढाइ करिब १० महिना अन्योल भएको थियो। उपत्यकाका स्थानीय तहहरूले विद्यालय खुलाउन खोज्दा पनि जोखिमलाई ध्यानमा राखी रोक लगाइएको थियो।

 

विद्यालय तथा अन्य मनोरञ्जनका क्षेत्रहरू खोल्न दिइने भए पनि कोरोनाको जोखिम बढे जिल्लाअन्तर्गतको जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई पुनः बन्द गर्न सक्ने अधिकार पनि दिइएको छ।

 

केन्द्र सरकारले औपचारिक रूपमा विद्यालय खुलाउने निर्णय गर्ने तयारी गरे पनि कतिपय स्थानीय तहले विद्यालय खुलाएर पठनपाठन सुरु गरिसकेका छन् ।

 

काठमाडौं उपत्यकाकै कतिपय सरकारी विद्यालय पनि खुला भइसकेका छन् । काठमाडौं उपत्यकाका अधिकांश शैक्षिक संस्थाको पठनपाठन भने अनलाइनमार्फत हुँदै आएको छ ।

 

सरकारले यसअघि शैक्षिक संघ संस्था खुला गर्ने निर्णय नगरे पनि जनस्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय तथा विश्वविद्यालयको परीक्षा गर्न अनुमति दिएको थियो ।

 

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सम्पन्न गरिसकेको छ । यस्तै विद्यालय तथा विश्वविद्यालयका विभिन्न तहका परीक्षा जारी छन् भने कतिपय प्रक्रियामा गइसकेका छन् ।

 

त्यस्तै, हल खुलिसकेपछि स्वास्थ्य सुरक्षा मापदण्डको पालना भए नभएको अनुगमन गर्ने र पालना नभएको खण्डमा कारबाही गर्ने निर्णय भएको पनि गुरागाइँले बताए।

 

सबै क्षेत्र खुलिसक्दा पनि आफूहरुलाई सरकारले हल खोल्न नदिएको भन्दै नेपाल चलचित्र संघको एकल निर्णयमा पुस १० गतेदेखि नै हल संञ्चालनमा आइसकेको थियो। दर्शकको न्युन उपस्थितिका कारण हलमा फिल्म लगाउन ठूला ब्यानरका निर्माताहरु भने डराइरहेका छन्।

 

यसैगरी बैठकले नयाँ प्रकारको कोरोना भाइरस देखिएका संयुक्त अधिराज्य बेलायत लगायतका २०/२२ वटा देशबाट आउने यात्रुलाई १० दिनसम्म क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने निर्णय गर्न मन्त्रिपरिषदमा प्रस्ताव लैजाने निर्णय पनि सीसीएमसी निर्देशक समितिले गरेको छ ।

 

यस्तै तेस्रो मुलुकबाट आउने व्यक्तिहरुलाई अनलाइन फारम भर्ने व्यवस्था मिलाइएको सीसीएमसीले जनाएको छ । यस्तो अनलाइन फारम नयाँ भाइरसका कारणले अझ प्रभावकारीरुपमा भराउन पर्यटन मन्त्रालयले एयरलाइन्सहरुलाई निर्देशन दिनेसमेत निर्णय भएको सचिव गुरागाईंले बताए ।