कोरोनाविरूद्धको खोप लगाउन १६ हजार केन्द्र ५२ हजार स्वयंसेवक खटाउने: स्वास्थ्य मन्त्री त्रिपाठी

काठमाडौं,पुस २७।सरकारले कोरोनाविरूद्धको खोप लगाउन १६ हजार खोप केन्द्र परिचालन गर्ने भएको छ।

मन्त्रालयको जिम्मेवारी सम्हालेको १५ औं दिनमा स्वास्थ्य मन्त्रालयमा सोमबार पत्रकार सम्मेलन गरेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले कारोनाविरूद्धको खोपका लागि ५ हजार कर्मचारी र ५२ हजार स्वयंसेवक खटाइने जानकारी दिए।

 

उनले खोपका लागि भारत, रुस र युइएसहितका देशहरुसँग छलफल गरिरहेको पनि बताए। मन्त्री त्रिपाठीले खोप खरिद प्रक्रिया र ढुवानीका बारेमा छलफल भइरहेकाले खोप चाँडै नेपालमा आउने बताए।

खोप चाँडो ल्याउन खोप निर्माण भइरहेका मुलुकका सरकार प्रमुखसँग छलफल गरिरहेका छौं। म स्वयम्ले भारत, रुस र युइएका राजदूतहरुसँग कुरा गरिरहेको छु,’ मन्त्री त्रिपाठीले भने।

मन्त्री त्रिपाठीका अनुसार कोभ्याक्समार्फत आउने खोप सुरूमा २० प्रतिशत जनसंख्यालाई दिइने र बाँकीलाई खरिद प्रक्रियामार्फत दिइनेछ।

 

उनले कोरोनाको खोप निःशुल्क प्रदान गरिने समेत बताए। खोप पुगेको सात दिनभित्र खोप दिने कार्य सुरु गर्नेरि स्वास्थ्य मन्त्रालयले तयारी गरेको उनको भनाई छ।

कोरोनाविरूद्धको खोप सुरुमा जोखिम वर्ग, ५५ वर्ष उमेर माथिका र दीर्घरोगीलाई लगाइने समेत स्वास्थ्य मन्त्रालयको तयारी छ।