नेपालमा थप ४८८ जना कोरोना संक्रमित,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २७।नेपालमा थप ४ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ६५ हजार २ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित छन्। 

 

 पछिल्लो २४ घण्टामा ५ हजार ३ सय ९ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ८७ हजार ५ सय ५५ पुगेको छ।

सोमबार थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ९ सय २७ पुगेको मन्त्रालयले जनाएको छ। हाल २ सय ३७ जना क्वारेन्टाइनमा छन्। 

 

पछिल्लो २४ घण्टामा ५ सय २७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ५८ हजार ९ सय ६८ पुगेको मन्त्रालयले जनाएको छ।                                                     

कुन जिल्लामा कति थपिए संक्रमित 

   प्रदेश १ को इलाममा २, झापामा ४, तेह्रथुममा १, धनकुटामा १, पाँचथरमा १, मोरङमा ८, सोलुखुम्बुमा १ र सुनसरीमा १ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र महोत्तरीमा १ जनामा कोरोना भेटिएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र २ सय ३० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ८, चितवनमा २०, दोलखामा ३, धादिङमा १, भक्तपुरमा १५, मकवानपुरमा ५, ललितपुरमा ६९, सिन्धुलीमा २ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

  गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ८, गोरखामा ३, तनहुँमा ३, नवलपरासी पूर्वमा ११, पर्वतमा ११, म्याग्दीमा २, लमजुङमा १ र बागलुङमा ५ जनामा कोरोना पुष्टि भएको छ। 

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा ३, दाङमा ३, नवलपरासीमा २, पाल्पामा १, बर्दियामा ५, बाँकेमा १८, रोल्पामा २ र रुपन्देहीमा २१ जनामा कोरोना पाइएको छ। 

 

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ३, कैलालीमा ३, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।