हत्यामा संलग्न ६ जना पक्राउ,आफन्तले नै हत्या गरेको खुलासा

काठमाडौं,माघ १४। रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि भएको हत्यामा संलग्न ६ जना पक्राउ परेका छन् । माघ ६ गते मायादेवी गाउँपालिका–७ गरगट्टीमा जलेको अवस्थामा सव फेला परेको थियो ।

 

सवको अनुसन्धान गर्दा सियारी गाउँपालिका वडा नम्बर २ बस्ने राजेन्द्र यादवको रहेको खुलेको थियो । हत्यामा संलग्न ८ जनामध्ये ६ जनालाई पक्राउ गरि आज भैरहवामा सार्वजनिक गरिएको छ ।

 

यादवलाई उनकै भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताउनुभयो ।

 

पक्राउ पर्नेमा मृतकका काका रामबेलास यादव, उनका सम्धी बुद्धिराम कोहार, हत्यामा संलग्न मूख्य ब्यक्ति सन्त कुमार यादव र बिरेन्द्र यादव सहयोगीहरु आफताब मुसलमान र राकेश यादव पक्राउ परेको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुभयो । हत्यामा संलग्न सोनु मुराव र मध्यस्तकर्ता लङगारे भन्ने ईन्द्रजीत यादव भने फरार रहेको प्रहरीको भनाई छ ।

 

मृतकका काकाले मध्यस्तकर्तालाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताउनुभयो । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगिसकेका थिए ।

 

राजेन्द्रलाई स्थानीय भट्टी पसलमा मदिरामा निद्रा लाग्ने औषधी मिसाएर खुवाई बेहोस बनाएपछि पाइपले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापछि राजेन्द्रको मृत शरीरलाई घटनास्थलबाट घिसारेर केही तल पु¥याई पेट्रोल छर्केर आगो लगाइएको थियो ।

 

मृतक राजेन्द्र यादवको बाबु रामसुभग यादव सर्पले डशेर मृत्यु भएपछि उनको आमा गुलमती यादवलाई काका रामबेलास यादवले विवाह गरेका थिए ।

 

गुलमती र रामबेलासका तर्फबाट पनि ३ छोरा नरेश यादव, विरेन्द्र यादव र जोगेन्द्र यादव भएपछि मृतक करिब १५÷१६ बर्षदेखी भारत बस्दै आएका थिए ।

 

जान्ने भएपछि गत वर्ष राजेन्द्र फर्केर नेपाल आए र बाबु काका रामबेलास यादवसँग अंश माग गर्न थाले । अंश मुद्दा दिएका राजेन्द्रलाई रुपन्देही जिल्ला अदालतबाट मिलापत्र गरि साढे १४ कठ्ठा जग्गा अंश परे पनि अन्ततः उनि त्यो जग्गा भोग भने गर्न पाएनन् । राजेन्द्रलाई जग्गा नदिने सोच बनाइसकेका उनका काका बाबु रामबेलास र भाइ विरेन्द्रले हत्या गर्ने योजना बनाएका थिए ।