‘न्यायपालिकाले आफ्नो भूमिका मर्यादापूर्वक निर्वाह गर्छ’


काठमाडौं,माघ १७। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा संवैधानिक परीक्षण गरिरहेको सर्वोच्च अदालतले न्यायपालिकाको गहन जिम्मेवारी मर्यादापूर्वक निर्वाह गर्ने स्पष्ट पारेका छन् ।

 

प्रधानन्यायाधीश जबराले सर्वोच्च अदालत बार एसोसिएसनका नवनिर्वाचित पदाधिकारीसँग शुक्रबार भएको भेटमा यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।

 

जबरालाई उद्धृत गर्दै एसोसिएसनका एक पदाधिकारीले भने, ‘संविधानले दिएको उच्च भूमिका हामी मर्यादापूर्वक निर्वाह गर्नेछौं ।

सर्वोच्च अदालत बार एसोसियसनका अध्यक्ष पूर्णमान शाक्यले मुलुककै भाग्य र भविष्यको निर्णय गर्ने जिम्मा सर्वोच्च अदालतमा आएको औंल्याएको सन्दर्भमा जबराले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन ।

न्यायपालिकाको स्वतन्त्रतामा विभिन्न ढंगले हस्तक्षेप भएको उल्लेख गर्दै जबराले स्वतन्त्रता रक्षाका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसियसनलाई अग्रणी भूमिका निर्वाह गरिदिन पनि आग्रह गरे ।

 

‘विभिन्न तवरले न्यायालयमाथि प्रहार भइरहेको छ तर हामी फोरम बनाएर प्रतिवाद गर्न त सक्दैनौं’, जबरालाई उद्धृत गर्दै एसोसियसनका ती पदाधिकारीले भने, ‘यसका लागि बारले नै अग्रणी भूमिका खेलिदिनुपर्छ । न्यायालय आफैं पनि जनआस्था गिर्न नदिन सचेत छ ।’

 

न्यायालयप्रति वर्तमान अवस्थामा धेरै जनगुनासो आएकातर्फ पनि आफूहरूको पर्याप्त ध्यान गएको उनले स्पष्ट पारे । जबराले प्रतिनिधिसभा विघटनसम्बन्धी संवैधानिक इजलासमा विचाराधीन मुद्दामा सार्वजनिक भइरहेका विभिन्न दृष्टिकोण टीकाटिप्पणीतर्फ सांकेतिक रुपमा असन्तुष्टि जनाए ।

एसोसियसनका ती पदाधिकारीका अनुसार छलफलका क्रममा प्रधानन्यायाधीश जबराले न्यायाधीश नियुक्ति, कारबाहीलगायत विषयमा समेत स्पष्ट दृष्टिकोण सार्वजनिक गरेका थिए ।

 

भ्रष्टाचारमा कारबाहीलगायतका विषयमा समेत विभिन्न दृष्टिकोण आइरहेको र स्वयं न्यायाधीशहरूले पनि विरोध गरेको उल्लेख गर्दै उनले आफूलाई काम गर्न अप्ठेरो भएको औंल्याए ।

 

न्यायाधीशहरूले नै आफूहरूलाई हतोत्साहित गरेको जबराको स्पष्टोक्ति थियो । ‘कारबाहीको विषयमा समेत विरोध आउने गरेको हुँदा मैले उचित निर्णय गर्न सकेको छैन,’ जबराले भने ।

सूक्ष्म निगरानी समूहमाफर्त अध्ययन गरी कारबाही गर्दा समेत विरोध आएको र त्यसमा स्पष्ट ढंगले अघि बढ्न नसकेको खुलासा उनले गरे ।

 

न्यायालयको स्वतन्त्रता रक्षाका लागि न्यायाधीशको नियुक्ति र कारबाही नै गम्भीर कडी रहेको पनि जबराले बताए । ‘काम गर्दा गुनासो आउन सक्छ तर प्रत्येकमा हामी सचेत भएर काम गरिरहेका छौं ।

सर्वोच्च अदालत बार एसोसियसनका पदाधिकारीसँग हालै भएको मुख्य न्यायाधीश नियुक्तिका विषयमा जबराले स्पष्ट ढंगले प्रतिरक्षा गरेका थिए ।

 

‘निष्पक्ष र इमानदारीपूर्वक काम गरेबापत हामीले न्यायाधीश नृपध्वज निरौलालाई मुख्य न्यायाधीशमा नियुक्त गरेका हौं,’ जबराले भने, ‘पहिल्यै बसालिएको जुन परिपाटी हो, त्यसका आधारमा निरौलालाई मुख्य न्यायाधीशमा नियुक्ति गरिएको हो ।’ निरौलाको नियुक्तिको विषयमा न्यायपरिषद्मै भएको विरोधको प्रधानन्यायाधीश जबराले स्पष्ट रुपमा प्रतिवाद गरे ।

 

न्यायपरिषद् सदस्यसमेत रहेका सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले निरौलाको नियुक्तिप्रति असन्तुष्टि जनाइरहेको चर्चा सार्वजनिक रुपमा भइरहेका बेला आएको प्रधानन्यायाधीश जबराको यो अभिव्यक्ति अर्थपूर्ण छ ।

प्रधानन्यायाधीश जबराले न्यायालयका विकृति र अटोमेटेड पेसी व्यवस्थापनबारे अध्ययन भइरहेकाले प्रतिवेदन प्राप्त भएपछि कार्यान्वयनमा जाने बताउँदै यसमा सहयोग गर्न सर्वोच्च अदालत बारलाई आग्रह गरे ।

 

‘हामी कार्यान्वयन गर्न तयार हुनेछौं तर तपाईंहरू पनि तयार हुनुपर्छ,’ जबरालाई उद्धृत गर्दै एसोसियसनका ती पदाधिकारीले भने ।

 

दुइटै समितिको अध्ययन अन्तिम चरणमा रहेकाले प्रतिवेदन आएपछि कार्यान्वयनका लागि न्यायपालिका सम्बद्ध सबै सरोकारवाला निकायले सहयोग गर्नुपर्ने पनि जबराको आग्रह थियो ।नागरिक दैनिकबाट,