‘सर्वोच्च अदालतको फैसला कांग्रेसलाई मान्य हुने’

काठमाडौं,माघ १७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले प्रतिनिधिसभाको विघटन सम्बन्धमा सर्वोच्च अदालतले गर्ने फैसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

 

प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेपाली कांग्रेस विधि र प्रक्रियाअनुसार चल्ने पार्टी भएको उल्लेख गर्दै अदालतको निर्णयलाई शिरोधार्य गर्ने बताए ।

 

लामो समयदेखिको सङ्घर्षको उपलब्धिस्वरुप प्राप्त संविधानको रक्षा गर्नु सबैको कर्तव्य भएको जनाउँदै खतिवडाले संविधानका विरुद्धमा हुने जुनसुकै गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

 

मुलुकमा निर्वाचन भएमा पार्टीको महाधिवेशन भदौमा हुने र प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा भने आगामी जेठ महिनामा हुने उनको भनाइ छ । रासस