नेपाली काँग्रेसका सभापति देउवाले चुनावी तयारीमा जुट्न कार्यकर्तालाई आग्रह

काठमाडौं,फागुन ७। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको चुनाव हुने भएकाले तयारीमा जुट्न कार्यकर्तालाई आह्वान गरेका छन् ।

 

काँग्रेस नुवाकोटको पार्टी कार्यालय (विपी स्मृति भवन)को विदुरमा आज उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले तोकिएको मितिमा चुनाव हुनेमा विश्वस्त हुँदै पार्टीलाई पहिलो बनाउन प्रचार अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

 

उनले संसद् विघटनसम्बन्धी सडकमा बहस नगर्न सचेत गराउँदै अदालतको फैसलाको काँग्रेसले स्वागत गर्ने बताए ।

 

“विघटन भएको संसद् पुनःस्थापना हुुनुपर्छ भनेर अदालतमा विचाराधीन विषय संवेदनशील हुन्छ, त्यसमा दबाब दिनुहुन्न”, देउवाले भने,अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा चुनाव चिन्ह र पार्टीको आधिकारिता विवाद पनि चुनावी तयारीको सङ्घर्ष हो ।

 

कार्यक्रममा पार्टीका नेता प्रकाशमान सिंहले अदालतले विवेकपूर्ण निर्णय दिएर अस्थिरता हटाउछ भन्नेमा आशावादी हुनुपर्नेमा जोड दिए ।

 

पार्टीका केन्द्रीय सदस्य अजुर्ननरसिंह केसी, डा रामशरण महत, गगनकुमार थापा, कमला पन्त, प्रदीप पौडेल, बहादुरसिंह लामा तामाङलगायतले मुलुकमा अराजकता बढिरहेको टिप्पणी गरे ।

 

विसं २०५८ मा विपी स्मृति भवनका नाममा शिलान्यास भएको पार्टी कार्यालय करीब चार करोड लगानीमा निर्माण गरिएको हो ।

 

उक्त भवनसहित त्यहाँ रहेको गणेशमान स्मृति सभाकक्ष, डिजिटल बोर्डलगायतको पनि आजै उद्घाटन गरिएको छ । भवनमा नौ कोठा तथा बन्द सभाकक्ष र खुला गरेर दुई सभाकक्ष छन् ।

रासस