विवाहको नाटक,टीकोटालो अनि बलात्कार
काठमाडौं,चैत २ ।तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ ।
टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।
यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई बलात्कार गर्ने दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।
अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए ।
तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो ।
अनिलविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान कार्य अगाडि बढाइएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
पर्सा सखुवाप्रसौनी गाउँपालिका–५ बलुवाटोलका १८ वर्षीय रोशनकुमार यादवले १६ वर्षकी बालिकालाई बिहे गर्छु भन्ने प्रलोभन दिई फागुन ८ गते राति बालिकाकै घरमा जबरजस्ती करणी गरेका थिए ।
त्यसपछि फागुन १३ गते रोशनले बालिकालाई ललाईफकाई घरबाट लिएर भारतको गोरखपुर लगी डेरामा राखेका थिए । डेरामा पनि रोशनले बालिकासँग पटकपटक जबरजस्ती करणी गरेका थिए ।
बालिका घरबाट बेपत्ता ।भएपछि बालिकाका अभिभावकले खोजतलास गर्न थालेपछि त्यो थाहा पाएर रोशनले पीडित बालिकालाई गोरखपुरबाट घर पठाइदिएका थिए ।
बालिका घरमा आएपछि आफूसँग भएको दुष्कर्मका बारेमा अभिभावकलाई बताएपछि पीडितबालिकाका बुबाले रोशनविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
त्यही उजुरीका आधारमा प्रहरीले आरोपित रोशनलाई उनकै घरबाट पक्राउ गरेको हो । रोशनविरुद्ध जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।
पर्साको पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारुले फागुन २५ गते गहुँखेतमा घाँस काटिरहेकी २१ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजेका थिए । तर ती महिलाले प्रतिकार गरी हँसियाले अभिषेकलाई प्रहार गर्न खोजेपछि उनी भागेका थिए ।
पीडित महिलाले फागुन २६ गते अभिषेकविरुद्ध प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । पीडित महिलाको उजुरीको आधारमा प्रहरीले आरोपित अभिषेकलाई उनको घरबाटै पक्राउ गरेको हो ।
उनीविरुद्ध जबरजस्ती करणी उद्योग शीर्षकमा मुद्दा दर्ता गरी पर्सा जिल्ला अदालतको आदेशले ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिनुभयो ।नेपाल समाचारपत्र बाट,