क्रान्तिकारी माओवादीका महासचिव किरणव्दारा प्रा.माणिकलाल श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण

काठमाडौं,चैत ३।यही चैत ३ गते नेपालका एक जना माक्र्सवादी चिन्तक, नेपालको वामपन्थी आन्दोलन तथा नेपाल भाषा आन्दोलनका एकजना अग्रज व्यक्तित्व प्रा.माणिकलाल श्रेष्ठको निधन भएको छ । उहाँको निधनप्रति नेकपा (क्रान्तिकारी माओवादी) महासचिव किरणव्दारा प्रकाशित श्रद्धांजली वक्तव्य तल दिइएको छ ।
प्रेस–वक्तव्य
यही २०७७ चैत ३ गते नेपालको वामपन्थी आन्दोलन तथा नेपाल भाषा आन्दोलनका एकजना अग्रज व्यक्तित्व कमरेड माणिक लाल श्रेष्ठको ८९ वर्षको उमेरमा दुःखद निधन भयो । उहाँ मृगौला तथा मुटु रोगले पीडित हुनुहुन्थ्यो । उहाँका २ छोरा, २ बुहारी र ४ जना नाति–नातिना हुनुहुन्छ । यस दुःखद घडीमा हाम्रो पार्टी क। माणिक लाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, उहाँका शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछ ।

उहाँ १९८९ साल असोज २९ गते काठमाण्डुको ठहिटीमा जन्मनु भएको थियो । २००७ सालमा स्थापित लाल कम्युनिस्ट पार्टीको संस्थापक सदस्य रहनु भएका कमरेड माणिक लाल श्रेष्ठ २०१० सालमा आयोजित नेपाल कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशनमा काठमाण्डौ जिल्लाबाट प्रतिनिधित्व गर्नु भएको थियो । माक्र्सवादी दर्शनका अध्येता कमरेड माणिक लाल नेपाल भाषा आन्दोलनका एक अग्रज नेतृत्व हुनु हुन्थ्यो । नेपाल भाषामा उहाँका थुप्रै कृतिहरु प्रकाशित भएका छन् । उहाँको निधनले नेपालको वामपन्थी एवम् नेपाल भाषा आन्दोलनलाई ठूलो क्षति पुग्न गएको छ ।

मितिः २०७७ चैत्र ३ गते
किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)