एमाले तर्फबाट कर्णाली प्रदेशमा मन्त्री भएकाहरुले आज सामूहिक राजीनामा दिने,मुख्यमन्त्री शाही संकटमा

काठमाडौं,चैत २४। कर्णाली प्रदेशका नेकपा एमालेका मन्त्रीहरुले आज सामूहिक राजीनामा दिने भएका छन्।आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले एमालेका मन्त्रीहरु आज राजीनामा दिने टुंगोमा पुगेको बताउनुभयो ।

 

कर्णाली प्रदेशको एमाले संसदीय दलको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको प्रमुख सचेतक गुलावजंग शाहले जानकारी दिनुभयो ।

 

दलको बैठकअघि नै मन्त्रीहरुले राजीनामा बुझाउने तयारी भएको प्रमुख सचेतक शाहले बताउनुभयो । आइतबार बसेको संसदीय दलको बैठकले मन्त्रीहरुले राजीनामा दिने र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मार्ग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरेको थियो ।

 

कर्णाली प्रदेशमा एमालेबाट ज्वालासँगै सामाजिक विकास मन्त्री दलबहादुर रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा हुनुहुन्छ ।

 

तीनै जनाले आज आफुहरुले गरेका कामको विवरणसहित सामूहिक राजीनामा दिनुहुनेछ । एमाले मन्त्रीको राजीनामापछि मुख्यमन्त्री महेन्द्रबहादुर शाही संकटमा पर्ने देखिएको छ । संसदमा एमालेका २० जना सांसद रहेका छन् ।