दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

काठमाडौं,बंशाख ५। २००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो ।

 

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको अगुवाइमा जन्मिएको नेपालको कम्युनिस्ट पार्टी सामन्तवाद, साम्रज्यवाद र विस्तारवादविरुद्ध संघर्ष गर्दै नेपाललाई एउटा समृद्ध समाज वादोन्मुख मुलुकका रूपमा अघि बढाउने दृष्टिकोण राखेको थियो ।

 

मुलुकलाई राणा शासकको पन्जाबाट मुक्त राख्दै व्याप्त विभेद र असमानताको अन्त गर्ने प्रण त्यति बेलै गरिएको थियो । तर, विडम्बना पार्टी स्थापना हुनेबितिकै पार्टीभित्र दुई लाइन संघर्ष सुरु भइहाल्यो ।

 

२०१० साल माघ १७ देखि सम्पन्न पहिलो भूमिगत महाधिवेशनले मनमोहन अधिकारीलाई महासचिवमा निर्वाचित गरेको थियो ।

 

मनमोहन चिनियाँ कम्युनिस्ट पार्टीको आठांै महाधिवेशनमा भाग लिन चीन गएपछि पार्टीको जिम्मेवारीमा केशरजंग रायमाझी आए । २०१४ जेठ १५ देखि २५ सम्म चलेको दोस्रो अधिवेशनमा पुष्पलालले पेस गरेका कार्यक्रम त पास भयो तर महासचिव केशरजंग रायमाझी बने ।

 

त्यसपछि राजा महेन्द्रको २०१७ सालको शाही ‘कु’ले भर्खरै संगठनमा लागेको कम्युनिस्ट पार्टीका लागि ठूलो प्रभाव प-यो । रायमाझीले राजाको ‘कु’ लाई स्वागत गरे भने पुष्पलालहरूले विरोध गरेका थिए । राजाको उक्त कदमलाई लिएर पुनः पुष्पलाल, रायमाझी र मोहनविक्रम सिंहको स्पष्ट तीन लाइन देखाप-यो ।

 

शाही ‘कु’को समर्थन गरेकोमा रायमाझीलाई महासचिवबाट हटाइयो र त्यसपछि विभिन्न क्षेत्रगत आधारमा समिति गठन गरियो । तेस्रो अधिवेशन २०१९ सालको वैशाखमा त्यही समितिले सम्पन्न गरी तुलसीलाल अमात्य महासचिव चुनिए ।

 

उता कारबाहीमा परेका रायमाझीले आफ्नो समूहको महाधिवेशन २०२४ सालमा सम्पन्न ग-यो । त्यस्तै, तुलसीलाल र पुष्पलाल समूहले पनि छुट्टाछुट्टै समूहको नेतृत्व गरी अघि बढे ।

 

२०२८ सालसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनमा विभिन्न धार देखापरिसकेका थिए । तिनै धारमध्ये झापा जिल्ला कमिटीले सशस्त्र संघर्ष गर्ने निर्णयका साथ अघि बढ्यो, जसको नेतृत्व सीपी मैनालीले गरेका थिए ।

 

जसलाई आजसम्म झापा विद्रोहका नायक भनेर चिनिन्छ । अहिलेका प्रधानमन्त्री एवं नेकपा एमालेका वर्तमान अध्यक्ष पनि सोही झापा आन्दोलनको समूहमा आबद्ध थिए ।

 

मुलुकलाई राणा शासकको पन्जाबाट मुक्त राख्दै व्याप्त विभेद र असमानताको अन्त्य गर्ने प्रण त्यति गरिए पनि पार्टी स्थापना हुनेबितिकै पार्टीभित्र दुई लाइन संघर्ष सुरु भइहाल्यो

 

झापा विद्रोहकै क्रममा २०२८ सालतिर रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, विरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायत सरकारले सुखानीको जंगलमा लगेर हत्या गरेको थियो, जेल सार्ने बहानामा ।

 

यो अवस्थासम्म आइपुग्दा नेपालको कम्युनिस्ट आन्दोलन तहसनहस अवस्थामा पुगिसकेको थियो । अझ भनौं २०२३ सालतिरै आइपुग्दा करिबकरिब कम्युनिस्ट पार्टी अवसानको बाटोतिर लागिसकेको थियो ।

 

एकातिर पूर्वमा मेची–कोसी प्रान्तीय कमिटी गठन भयो भने अर्कातिर केशरजंगको समूह छुट्टियो । पार्टीका अन्य प्रभावशाली नेताहरू तुलसीलाल र पुष्पलाल पनि छुट्टिए ।

 

सीपी मैनाली र मोहनविक्रम सिंहले क्रमशः झापा जिल्ला कमिटी र केन्द्रीय न्युक्लियसको नेतृत्व गर्थे । झापा विद्रोहमा ठूलो क्षति हुने भयले २०३१ सालतिर झापाली विद्रोही कमिटी र मोरङको क्रान्तिकारी संगठनले २०३२ सालमा संयुक्त सम्मेलन गरी अखिल नेपाल कम्युनिस्ट क्रान्तिकारी कोअर्डिनेसन कमिटी गठन गरेको थियो ।

 

यो कमिटीमा अन्य विभिन्न कमिटी पनि समेटिएका थिए । यही कोअर्डिनेसन कमिटीले २०३५ सालको पुसमा राष्ट्रिय सम्मेलन गरी सीपी मैनालीको नेतृत्वमा नेकपा एमाले गठन ग-यो ।

 

२०३५ सालतिर पुष्पलालको निधन भएपछि पुष्पलालको पार्टी साहना प्रधान र बलराम उपाध्यायले चलाए । २०४३ सालतिर आएर मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीसँग पुष्पलालको पार्टी पनि एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी) बन्यो ।

 

२०४६ सालको जनआन्दोलनमा सहभागी भएको मनमोहन अधिकारीको दल र सीपी मैनालीको दलबीच २०४७ सालमा एकीकरण भई नेकपा एमालेको जन्म भयो ।

 

मदन भण्डारी महासचिव रहेको एमालेले जनताको बहुदलीय जनवादलाई अंगीकार गर्दै अघि बढ्ने निर्णय ग¥यो । उता अलग धारको रूपमा रहेको मोहनविक्रम सिंह नेतृत्वको समूहभित्र पनि २०३६ सालको जनमत संग्रह हेर्ने दृष्टिकोणमा मत भिन्नता आउँदा उक्त समूहभित्र पनि गुटहरू सिर्जना भए ।२०४० सालमा निर्मल लामाले पार्टी फुटाएर नेकपा (चौम) बनाए । मोहनविक्रम सिंह समूहले नेकपा (मसाल) राखे ।

 

मोहन वैद्य (किरण), पुष्पकमल दाहाल (प्रचण्ड)लगायतका नेताहरू पनि मोहनविक्रम सिंहसँगै रहे । मसाल पाँचौं महाधिवेशनसम्म आइपुग्दा फेरि अर्को विभाजनमा प-यो ।

 

मोहनविक्रम सिंहमा गम्भीर सैद्धान्तिक विचलनको आरोप लगाउँदै प्रचण्डले प्रतिवेदन पेस गरेपछि मोहन वैद्य (किरण)लाई महामन्त्रीमा चयन ग¥यो ।

 

२०४२ सालमा पाँचांै महाधिवेशनबाट निर्वाचित १७ जना केन्द्रीय सदस्यमध्ये चार जनालाई लिएर मोहनविक्रम सिंहले नेकपा मसाल गठन गरे ।

 

यसलाई पातलो (मसाल) भन्न थालियो । २०४३ सालमा नेकपा मशाल अर्थात् मोटो मशालका तर्फबाट आक्रामक गतिविधि र पोस्टर टाँस्ने काम भयो जसले पार्टीलाई ठूलो क्षति पनि पु¥याएको थियो ।

 

यसमा पार्टीको योजना असफल भएपछि मोहन वैधले पार्टीबाट राजिनामा दिए । २०४५ सालमा नेकपा मशालको सम्मेलनले प्रचण्डलाई महामन्त्रिमा निर्वाचित ग¥यो र माओवाद पास ग¥योे । त्यसपछि दीर्घकालीन जनयुद्धको कार्यदिशासमेत पास ग-योे ।

 

आम कार्यकर्ता, समर्थक, शुभेच्छुकको एउटै चिन्ता छ, अब नेकपा एमाले कस्तो अवस्थामा पुग्ने हो वा कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो

 

२०४७ साल श्रावणमा प्रचण्ड नेतृत्वको नेकपा (मशाल),निर्मल लामा नेतृत्वको नेकपा चौम र रूपलाल विश्वकर्माको सर्वहारावादी श्रमिक संगठनबीच एकता भई नेकपा एकता केन्द्र बन्यो ।

 

२०४७ सालतिरै हरिबोल गजुरेल र बाबुराम भट्टराईलगायतको टिम मोहनविक्रम सिंहसँग विद्रोह गरी नेकपा एकता केन्द्रमा प्रवेश ग-योे ।

 

२०४८ साल मंसिर ४ मा एकता महाधिवेशनले प्रचण्डको दीर्घकालीन जनयुद्धको कार्यदिशा पारित ग-योे र पार्टीको नाम नेकपा (माओवादी) राखी २०५२ साल फागुन १ गतेदेखि सशस्त्र जनयुद्धमा होमियो ।

 

नेपालका कम्युनिस्ट पार्टीहरूको फुट र एकले अर्कोलाई कारबाहीको शृंखला यतिमा मात्रै सीमित छैन । २०४६ सालको राजनीतिक परिवर्तनपछि सबैभन्दा ठूलो कम्युनिस्ट शक्ति बनेको नेकपा (एमाले) पहिलोपटक महाकाली सन्धिको विषयलाई लिएर फुटेको थियो ।

 

अहिलेको नेकपा एमालेको उपाध्यक्ष वामदेव गौतमको अगुवाइमा पार्टी फुटाएर नेकपा ९माले० बनाए तर निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि पुनः एमालेमै फर्किए ।

 

सीपी मैनाली भने आजसम्म मालेकै नेतृत्व गरिरहेका छन् । २०६२/६३ को जनआन्दोलनपश्चात् कम्युनिस्टका दुई मुख्य धार नेकपा एमाले र नेकपा माओवादी अस्तित्वमा आए ।

 

नेकपा एमालेले संसदीय व्यवस्था रोजेको थियो भने नेकपा माओवादीले शान्तिपूर्ण राजनितिक अवतरण रोजेको थियो । अन्य साना कम्युनिस्ट घटकहरू पनि आआफ्नै किसिमले जुट्दै फुट्दै गरिरहेका थिए ।

 

२०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा भाग लिएको नेकपा माओवादीबाट मोहन वैध (किरण) फेरि पुष्पकमल दाहालबाट अलग भए ।

 

नेत्रविक्रम चन्द (विप्लव)ले पनि पुष्पकमल दाहालको नेकपा माओवादी छोडी सशस्त्र संघर्ष रोजे । दोस्रो संविधान सभाको निर्वाचनमा नेकपा माओवादी तेस्रो स्थानमा खुम्चन पुग्यो । माओवादीको संगठन त्यसपछि कमजोर बन्दै गयो ।

 

निर्वाचनमा पराजय भोग्दै गएपछि २०७५ जेठ ३ गते नेकपा एमालेसँग एकीकरण गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो ।

 

नेकपाले २०७४ को निर्वाचनमा करीब दुई तिहाइ जनमतको सर्मथन प्राप्त ग-योे र एकल नेतृत्वको सरकार बन्यो तर एकता भएको तीन वर्ष नपुग्दै पार्टी फुटेर एमाले र माओवादीकै अवस्थामा फर्किए ।

 

ठूलो अपेक्षा र भरोसाले निर्वाचनमा सफलता प्राप्त गरेको दलभित्र अहिले चलिरहेको रडाकोले देशको राजनीतिक, सामाजिक, आर्थिक एवं सम्पूर्ण क्षेत्रमा नराम्रो प्रभाव पारिरहेको छ ।

 

जनअपेक्षामा ठूलो आघात पुगेको छ । समाजवादको नाराले २०७४ सालमा सम्पन्न निर्वाचनमा दुई तिहाइको जनमत प्राप्त गरेको नेकपा आन्तरिक कलहले गर्दा विभाजित बन्न पुग्यो । विकास समृद्धि र समाजवाद त केवल मृगतृष्णा मात्र बन्न पुुगेको छ ।

 

समृद्धि र समाजवादकै प्रलोभनले जनताले कम्युनिस्ट पार्टीलाई सत्तामा त पु-याए तर तीन वर्ष पनि पूरा हुन नपाउँदै व्यक्तिगत टकराव र गुटगत राजनीतिको प्रवृत्तिले सग्लो कम्युनिस्ट पार्टी विभिन्न समूहमा विभक्त हुँदा जनमतमाथि नै अपमान भएको छ ।

 

अहिले नेकपा एमालेभित्रको घिनलाग्दो जनभावनाविपरीतका गतिविधि पनि सत्ता, शक्ति, गुट र नेतृत्वमा हाली मुहाली गर्ने कुत्सित मानसिकताको उपज हो ।

 

विधि, पद्धति, संस्कार, सहमति, सहकार्य, एकअर्काको सम्मान जेजस्ता शब्दजाल प्रयोग गरिए तापनि अहिलेको मुख्य समस्या भनेकै पार्टी कब्जा गर्दै सत्ता र शक्तिमा आफ्नो गुटलाई स्थापित गर्ने नै हो ।

 

पार्टी सुदृढीकरण र पुनर्गठनका नाममा चलाइएका समानान्तर गतिविधिले नेकपा एमाले कहाँ पुग्ने हो अनिश्चित छ । एक अर्काप्रति प्रयोग भएका गाली गलौजका शब्द र कारबाही हेर्दा लाग्छ अब नेकपा एमाले एक ढिक्का हुने सम्भावना न्यून बन्दै गएको छ ।

 

आम कार्यकर्ता, समर्थक, शुभेच्छुकको एउटै चिन्ता छ, अब नेकपा एमाले कस्तो अवस्थामा पुग्ने हो । कम्युनिस्ट आन्दोलन कहाँ पुगेर दुर्घटनाग्रस्त हुने हो ।राजधानी दैनिकमा खबर छ।