गण्डकी प्रदेशमा सत्ता जोगाउने र ढाल्नेको रस्साकस्सी

काठमाडौं,बैशाख १४। सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।

 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रस्तुत अविश्वास प्रस्तावमाथि छलफल गर्न हिजो शुरु भएको विशेष अधिवेशन कोरोना परीक्षण बिना चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले अवरोध गरेको हो ।

 

संसदीय अभ्यासमा सत्तारुढ दलले नै संसद अवरोध गर्ने विरलै देखिने दृश्य मंगलबार गण्डकी प्रदेश सभामा पनि देखियो। यसअघि यस्तै दृष्य प्रदेश १ मा पनि देखिएको थियो ।

 

नेकपा एमालेले आफ्ना मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रस्तुत अविश्वास प्रस्ताव रोक्न पीसीआर परीक्षणलाई हतियार बनायो ।

 

सोमबारकै बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बैठकको शुरुमै संसदको ध्यानाकर्षण गराउनुभयो । मंगलबार बैठकको कार्यसूचीमा प्रवेश गर्न लागेसँगै एमालेका सांसदले उठेर विरोध गरे ।सत्तारुढ दलका सांसद मात्रै उठेनन्, मन्त्रीहरुनै विरोधमा उभिएको विरलै हुने दृश्य देखियो ।

 

सभामुख नेत्रनाथ अधिकारीले समय दिएपछि सांसद राजीव पहारीले कोरोनाको परीक्षण बिना संसद चल्न नदिने बताउनुभयो ।

 

सरकारका प्रवक्ता र मन्त्री नै सहभागी भएर कार्यसूची तयार गरिएको भन्दै सभामुख अधिकारीले बस्न सांसदहरुलाई आग्रह गर्नुभयो । तर, एमालेका सांसदले विरोध कायम राखेपछि २० मिनेटका लागि बैठक स्थगित भयो ।

 

बैठक स्थगित गरेर सबै सांसदको पीसीआर परीक्षण गर्ने, पोजिटिभ आएकाले सदनमा बोल्न नपाउने तर नतिजा पोजेटिभ आए पनि मतदान गर्न पाउने सहमति भयो ।

 

सत्तारुढ सांसदले कोरोनाको बहानामा संसद स्थगित गरेको भन्दै नयाँ सरकारका लागि गठबन्धन गरिरहेका विपक्षी दलले आलोचना गरे । तर सत्ता हत्याउने उनीहरुको प्रयास पनि अचम्मैको छ ।

 

सांसदलाई होटलमा राख्ने कदमले पनि उनीहरुको नियत र आचरण पुष्टि हुन्छ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरुलाई सोमबार साँझदेखि पोखराको लेकसाईड स्थित रिसोर्टमा राखिएको छ ।

 

एक जना सांसदले मात्र फ्लोर क्रस गरे वा अनुपस्थित भए पनि गुरुङ नेतृत्वको सरकार जोगिने भएकाले उनीहरुलाई आफ्नै सांसदप्रति विश्वास छैन । रिसोर्टमा गएर सबै ठाउँ बस्नु त्यसैको उदाहरण हो । तर छलफलका लागि होटलमा बसेको उनीहरुको दाबी छ ।

 

सत्ता जोगाउने र हत्याउने सत्तापक्ष र विपक्षको यो व्यवहार सत्ताको राजनीति कसरी विकृत हुँदैछ भन्ने उदाहरण हो । र, यसले व्यवस्था परिवर्तन भए पनि सोच परिवर्तन नभएको पुष्टि हुन्छ ।