उपत्यकामा निषेधाज्ञा थप कडाइ गर्दै २९ गतेसम्म लम्ब्याउने निर्णय,उपत्यका बाहिर जान यस्तो प्रतिवद्धता जनाए मात्र जान पाइने

काठमाडौं,बैशाख २१ । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ ।यो अवधिमा निषेधाज्ञा थप कडा हुने छ।उपत्यकाका तीन जिल्लाले घरबाहिर निस्कन थप कडाइ गर्दै वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय भएकाे छ।   

 

  काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल सञ्चालन, बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालनमा थप कडाइ गरेको छ।

 

अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पनि रोक लगाउने निर्णय गरिएकाे छ। यसअघि जारी भएका सबै पास खारेज गर्ने निर्णय समेत गरिएकाे छ । कवाडी संकलन लगायत ठेला गाडा समेत सञ्चालनमा रोक लगाइएको छ।  

 

 अत्यावश्यक खाद्य सामग्रीका पसल, व्यवसाय र डिपार्टमेन्ट स्टोर विहान ७ देखि ९ बजेसम्म मात्र खोल्न पाइने भएको छ। यसअघि खाद्य सामग्रीको पसल विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने व्यवस्था थियो ।

 

त्यस्तै सरकारी कार्यालय, सार्वजनिक संस्थान, विमालगायतका कार्यालयमा एक चौथाइ कर्मचारी मात्र राखेर सञ्चालन गर्नुपर्नेछ । बैंक तथा वित्तीय संस्थाले काठमाडौं उपत्यकामा आफ्ना शाखा कार्यालयमध्ये २५ प्रतिशत मात्र खुला राख्न पाउनेछन् । केन्द्रीय कार्यालयमा २० प्रतिशत जनशक्ति मात्र राखेर काम गर्नुपर्नेछ ।

 

अत्यावश्यक कार्य, बिरामी, कुरुवा, मृत्यु संस्कार तथा मलामीले विषय खुल्ने कागजात र सम्बन्धित स्थानीय तहको सिफारिस बनाएमा आवतजावतका लागि प्रशासन कार्यालयले सहजीकरण गरिदिनेछ ।

विकास निर्माणका काम गर्न सम्बन्धित आयोजनाले कामदारलाई आवासीय रुपमा नै राख्नुपर्नेछ र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेछ ।

 

पत्रकार तथा सञ्चारकर्मीले सूचना विभागको पास देखाएर आवतजावत गर्न सक्नेछन् । सूचना विभागको पास नभएमा कर्मचारीको विवरण सञ्चार गृहले जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्नेछ ।

 

त्यस्तै उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धता जनाए मात्र जान पाइनेछ निर्णय भएकाे छ।