रिस किन उठ्छ र कसरी शान्त पार्ने,यस्ता छन्,रिस नियन्त्रणका विधिहरु

काठमाडौं।रिसले सानो मात्र होइन ठूलो कामलाई पनि धक्का पु-याउँछ । सानो कुरामा रिस नियन्त्रण गर्न नसक्दा जीवनभरका लागि ठूलो क्षतिसमेत पुग्न सक्छ ।

 

त्यसमा पछुतोबाहेक अरु केही हुँदैन । समय,परिस्थिति र विचारअनुसार दैनिकरूपमा हाम्रा भावनाहरु विभिन्न किसिम र विभिन्न स्तरमा प्राकृतिक तरिकाले आइरहेका हुन्छन् र यी भावनात्मक अवस्थालाई हाम्रो दिमागले निरन्तर सञ्चालन गरिरहेको हुन्छ । तिनै विभिन्न भावनात्मक अवस्थाहरूमध्ये रिस एक हो ।

 

खराब अवस्थामा जीउलाई बचाउने, सोच्ने र विचार गर्ने स्नायु तन्तु सेरेबल कर्टेक्सलाई खबरै नगरी शरीरले काम गर्दा झडङ्ग रिस उठ्छ । रिसकै झोकमा मान्छेले गर्नु नगर्नु गर्छ । यसको खबर रिस मरेपछि मात्रै निकै ढिलो सेरेबल कर्टेक्सले थाहा पाउँछ ।

 

सोचविचार गर्ने क्षमताको कर्टेक्स तन्तुले पत्तो पाउन्जेल रिसले काम तमाम गरिसकेको हुन्छ ।कर्टेक्सले त्यसको विरोध त गर्छ तर भइसकेको कामलाई रोक्नचाहिँ सक्दैन ।

 

त्यसैले अक्सर रिसको झोकमा केही गरेपछि अलिक बेरमा पश्चात्ताप हुने गरेको हो । यस्ता रिसाहा बानीले हाम्रो जीवनमा नकारात्मक असर पारिरहेको हुन्छ । रिसाहा बानीले शारीरिक तथा मानसिकरुपमा नकारात्मक असर पु-याउँछ ।

 

अनावश्यक रिसले सम्बन्ध टुट्न सक्छ, करिअरमा धक्का लाग्न सक्छ अनि सामाजिक जीवनमा पनि नराम्रो असर पुग्न सक्छ । त्यसैले यदि तपाईंमा पनि यस्तो बानी छ भने त्यसलाई त्याग्ने उपाय खोज्नुहोस् । रिस किन उठ्छ र त्यसले कस्तो असर पु-याउँछ भन्ने विषयमा गम्भीररुपले सोच्नु आवश्यक हुन्छ ।

 

मानिसहरु सामान्यतया अरुलाई सुझाव दिन सक्छन् तर त्यही सुझाव आफ्नै जीवनमा लागू भएको छ कि छैन भन्ने अर्कै बहसको विषय होला । मानिस आफैँ निकै चेतनशील प्राणी भएकोले पनि रिसको सन्तुलनको निम्ति आफ्नै मनको चेतनशील तथा अचेतनशील प्रक्रियागत प्रणालीहरुको प्रयोग गरी रिस तथा क्रोधको व्यवस्थापन गर्न कोसिस गर्छ ।

 

 

रिस तथा क्रोधलाई दबाउने वा रुपान्तरित गरेर कुनै अर्थपूर्ण तथा उत्पादनमूलक कार्यमा लगाउने छनोट हामीसँग रहेको हुन्छ । रिस यस्तो संवेग हो, जुन हरेक मानवको जीवनको समय समयमा विभिन्न बहानामा आइरहन्छ ।

 

यसलाई रोक्नु निकै चुनौतीपूर्ण मात्रै होइन, अस्वस्थकर अभ्याससमेत हो । तसर्थ यसको सही व्यवस्थापनलाई हामीले आत्मसात् गर्नुपर्छ । रिस उठ्ने कारण निम्न छन् ।

मानसिक समस्या

रोग, भोक, शोकलगायत कारणले मानिस आफैं पिरोलिएका हुन्छन् । त्यस्तो बेला उनीहरुले अरुका सामान्य कुरालाई पनि गहिरो तरिकाले बुझ्छन् र अचानक रिसाउँछन् ।

आदत

कतिपय मानिस जन्मजात रिसाहा हुन्छन् । कतिपयको पछि विकसित हुन्छ । बाल्यकालमा धेरै कुटाइ खाएका, झैझगडाको वातावरणमा हुर्किएकाहरुमा धेरै रिस उठ्ने बानी हुन्छ । उनीहरुले त्यो बानी नियन्त्रण गर्न खोज्ने प्रयास गरे पनि असफल हुन्छन् । त्यो उनीहरुको कमजोरीको रुपमा रहिरन्छ ।

प्रतिकूल वातावरण

प्रतिकूल वातावरणका कारण धेरै मानिस झ्वाट्ट रिसाउने गर्छन् । सोचेजस्तो नहुनु, नदेखिनु वा नभेटिनुले मानिस अकस्मात् रिसाउँछन् । त्यसको असर स्वयंलाई पुग्छ नै, आसपासमा रहेकालाई पनि असर पुग्छ ।

रिसका असरहरू

रिसको कारणले गर्दा उग्र भएको अवस्थामा हाम्रो निर्णय गर्ने क्षमतमा र विवेकमा क्षति पुग्न सक्छ । यसले गर्दा अव्यावहारिक र तर्कहीन बोली–व्यवहार प्रस्फुटित हुन सक्छ ।

 

रिस उठेको अवस्थामा हामीले प्रभावकारी ढंगले आफ्नो विचार ब्यक्त गर्न अथवा सञ्चार गर्न सक्दैनौं, जसले गर्दा पारस्परिक सम्बन्धमा नकारात्मक असर पर्न सक्छ ।

 

प्रायजसो परिस्थितिअनुसार रिस ब्यक्त गर्नु स्वास्थ्यवद्र्धक प्रतिक्रिया नै हुन सक्छ । तर बारम्बार अत्यधिक मात्रामा र धेरै समयसम्म रिस उठ्ने, उग्र हुने, रिसको अभिव्यक्ति नियन्त्रणबाहिर जान थाल्यो भने यसले हाम्रो मानसिकता र शरीरमा प्रतिकूल असर पु¥याउन सक्छ ।

 

यसले गम्भीर, विनाशकारी समस्याहरू सिर्जना गर्न सक्छ । काममा, ब्यवहारमा र आपसी सम्बन्धमा प्रतिकूल असर पारी जीवनको स्तरलाई कमजोर पार्न सक्छ ।

रिस नियन्त्रणका विधिहरु

ध्यान

ध्यानले जीवनमा ठूलो परिवर्तन ल्याउने काम गरेको हुन्छ । तनावमुक्त जीवनका लागि ध्यानले शान्तिपूर्ण वातावरण सिर्जना गर्छ । त्यसैले दिनमा कम्तीमा एकपटक १५ देखि २० मिनेटसम्म भए पनि ध्यान गर्नुपर्छ ।

 

मीठो संगीतसँगै शान्त स्थानमा ध्यान गर्नाले मन पनि शान्त हुन्छ । ध्यानले क्षमता अभिवृद्धि, आत्मविश्वास बढाउनुको साथै शरीरलाई स्फूर्ति राख्नको लागि महत्वपूर्ण भूमिका खेल्छ ।
विचार

कुनै छलफल होस् या साथीभाइसँग कुराकानी गर्दा होस्, बोल्नुपूर्व विचार पु¥याउन सकियो भने त्यहाँ कुनै किसिमको झगडा, कोलाहल हुँदैन र एक–अर्कामा खुलेर विचार आदानप्रदान गर्न सकिन्छ । यसले गर्दा रिस हाबी हुन पाउँदैन ।

विकल्प

कुनै कुरामा चित्त बुझेको छैन या कुनै कुरामाथि रिस उठेको छ भने समाधानको विकल्प खोज्नुपर्छ । जसले जे गरेको हो त्यही किसिमको जवाफ वा प्रतिक्रिया दिँदा अपेक्षाकृत नतिजा नआउन सक्छ । त्यसैले झगडा हुन लागेका बेला आफूलाई नियन्त्रण गर्नुपर्छ । कसैले कुट्न थाल्यो भने या अपशव्द बोल्न थाल्यो भने आफूले पनि त्यही गर्नुहुँदैन । त्यो बेला त्यस्ता व्यक्तिबाट टाढा रहनुपर्छ ।

तनाव

रिस उठेको बेलामा रिसलाई दबाउने होइन कि आफूलाई रिसबाट मुक्त गराउने कलाको अभ्यास गर्नुपर्छ । र, आफूलाई तनावमुक्त बनाएर मनलाई हलुका बनाउने प्रयास गर्ने गर्दा पनि रिसबाट तनावमुक्त बन्न सकिन्छ । संगीत सुन्ने, राम्रो–राम्रो पुस्तक अध्ययन गर्ने, नृत्य गर्ने, घुम्ने गर्नुपर्छ । त्यसले मनलाई आनन्द प्रदान गर्छ ।

हिँडडुल

रिसलाई सामान्य अवस्थामा ल्याउनको लागि तनावमुक्त वातावरणको सिर्जना गर्नुपर्छ । बाहिरी वातावरणमा समायोजन हुन सकियो भने पनि रिसलाई शान्त पार्न सकिन्छ, जसका लागि कोलाहल र अशान्तबाट निस्किएर बाहिरतिर हिँडडुल गर्नु जरुरी देखिन्छ ।

– विकल्प देवकोटा, सर्लाही ।