भ्रष्टाचारको मुद्दा लागेका गच्छदार १० लाख धरौटीमा रिहा

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति एवम पूर्वमन्त्री विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । आज अदालतमा पुगेका गच्छदारलाई अदालतले १० लाख धरौटी तोकेको हो ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ २०७६ मा गच्छेदारसहित १७५ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार मुद्दा दायर गरेको थियो ।

 

यस्तै अदालतले पटक पटक बोलाउँदा पनि उपस्थित नभएपछि उनलाई फरार अभियुक्तको सूचिमा राखिएको थियो ।  शेरबहादुर देउवा प्रधानमन्त्री भए लगतै उनि अदालतमा हाजिर भएका हुन् ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । उनले बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउन मुख्य भूमिका खेलेको आरोप लागेको थियो ।