स्थानीय तहलाई कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्न मन्त्रालयको पत्राचार

 काठमाडौंं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई जिम्मेवार, जवाफदेही बनाउने उद्देश्यले कर्मचारीको कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था मिलाउन देशभरका स्थानीय तहलाई पत्राचार गरेको छ ।

 

 

मन्त्रालयको आन्तरिक व्यवस्था शाखाले सचिवस्तरीय निर्णयअनुसार सो पत्राचार गरिएको शाखाका अधिकृत वसन्त भट्टराईले जानकारी दिनुभयो ।

 

 

मन्त्रालयले लोकसेवा आयोगबाट सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीको हकमा कार्यसम्पादन मूल्यांकन गर्ने व्यवस्था मिलाउन लागिएको हो । यसका लागि मन्त्रालयले कार्यसम्पादन मूल्यांकन फाराम पनि स्थानीय तहमा पठाएको छ ।

 

 

सो फारम कार्यपालिका बैठकबाट स्वीकृति गरी भर्ने व्यवस्था मिलाउन भनिएको छ । अर्को व्यवस्था नभएसम्मका लागि मन्त्रालयले पठाएको फारम प्रयोगमा ल्याइएको मन्त्रालयले बताएको छ ।

 

 

 

मन्त्रालयले पठाएको फारामको ढाँचामा कर्मचारीले खुलाउनुपर्ने विवरण, गर्नुपर्ने कामका सम्बन्धमा स्पष्टरूपमा उल्लेख गरिएको बताउँदै अधिकृत भट्टराईले भन्नुभयो– ‘आर्थिक वर्षको श्रावण महिनादेखि असार मसान्तसम्ममा कर्मचारीले सम्पादन गर्ने कार्यको मूल्यांकन गर्नुपर्नेछ ।

 

 

उहाँले प्रत्येक वर्षको श्रावण ७ गतेभित्र कर्मचारीले आफूले कार्यसम्पादन गर्न लागेको समयको मापन आधार सुपरीवेक्षकसमक्ष पेस गर्ने प्रयोजनका लागि कार्यालयमा दर्ता गराउनुपर्नेछ ।

 

 

सुपरीवेक्षक र पुनरावलोक समितिले श्रावण महिनाभरिमा त्यसको मूल्यांकन गर्नुपर्नेछ । त्यसमा तोकिएको काम सो समयभन्दा अघि नै सम्पन्न भएमा, तोकिएको काममध्ये १५ प्रतिशत, प्रतिशत काम र सोभन्दा बढी प्रतिशत काम तोकिएको समयभन्दा पछि सम्पन्न भएमा सोको कारण खुलाएर पेस गर्नुपर्ने बताइएको छ ।

 

 

त्यसै गरी, सम्पादित कामहरूको विवरणमा कुल ५ वटा काम उल्लेख हुनुपर्ने छ । काम उल्लेख गर्दा संगठनको उद्देश्यअनुरूप पदको कार्यविवरण तथा वार्षिक कार्ययोजनासँग मिल्नुपर्ने पनि मन्त्रालयले जनाएको छ ।

 

 

 

मन्त्रालयका अनुसार वार्षिक लक्ष्य शुरूमा नै तोक्न नमिल्ने कामका लागि वर्षभरि सम्पादन गरिएका कामहरूलाई नै वार्षिक लक्ष्य मान्नुपर्नेछ ।

 

 

कार्यसम्पादन सूचकांकअनुसार सम्पादित कार्यको प्रगति र सो काम नभएमा त्यसका कारण अनिवार्यरूपमा खुलाउनुपर्ने र त्यसमा कामको एकाइ, सम्भव भएसम्म परिणाम, लागत र समय उल्लेख गर्नुपर्ने भनिएको छ ।

 

 

त्यसै गरी, सुपरीवेक्षक र पुनरावलोकर्ताले कर्मचारीको कामको मूल्यांकन गर्र्दा कामको समग्र परिमाण, लागत, समय र गुण हेर्नुपर्ने छ ।नेपाल समाचारपत्रबाट,