मेलम्चीमा पुनः बाढी, रेडियो मेलम्चीको भवन पनि रहेन !

काठमाडाैँ । मेलम्चीमा शनिबार रातिदेखि आएको बाढीले रेडियो मेलम्चीको भवन ढलेको छ । रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले गए राति १२ः४० मा भवन ढलेर बगाएको जानकारी दिए।

यसअघि गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारलाई बगरमा परिणत गरेको थियो। त्यतिबेला नै बाढीमा डुबे पनि रेडियो मेलम्चीको भवन भत्किएको थिएन।

 

बाढी घटेपछि रेडियोका सामान सुरक्षित स्थानमा सारेर वैकल्पिक माध्यमबाट रेडियो सञ्चालन गरिएको थियो। पुनः शनिबार राति आएको बाढीले रेडियोको भवन पनि भत्काएपछि ठूलो क्षति भएको अध्यक्ष भारतीले बताए।

त्यस्तै ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ । नदीको सतह बढेपछि ग्यालथुम बजारसमेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए ।

 

यसैबीच हेलम्बुस्थित चनौटेको रातो पुलमाथिबाट अहिले पनि पानी बगिरहेको स्थानीयवासी हस्त पण्डितले जानकारी दिए । बाढीले धार परिवर्तन गरेर तालामाराङ प्रहरी चौकीको भान्छा पनि बगाएको छ ।