जसपाका तीन सांसदको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का लुम्बिनी प्रदेशका ३ सांसदलाई थमौती गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

 

पार्टीले निष्कासन गरेपछि सांसद पद गुमाएसँगै पार्टी र प्रदेशसभा सचिवालयको निर्णय विरुद्ध विजयबहादुर यादव, सन्तोषकुमार पाण्डेय र कल्पना पाण्डेय सर्वोच्च गएका थिए । तर सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले उनीहरुको माग अनुसार सांसद पद थमौतीका लागि अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

 

साउन १८ गते दर्ता गरिएको रिट साउन १९ को पेसीमा चढेको थियो । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा परेको रिट निवेदकबाटै स्थगित गरिएको थियो । त्यसपछि साउन २१ गते पेसीमा चढेको उक्त रिट न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको थियो । उक्त दिन पनि निवेदकको कानुन व्यवसायीबाट स्थगित गराइएको थियो ।

 

त्यसपछि सोमबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाकै इजलासमा परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै छलफलका लागि भदौ ८ गतेलाई बोलाएको हो ।

 

तीन सांसदलाई पदमुक्त गर्नुको कारण पेश गर्न प्रदेश सभा सचिवालय लुम्बिनीलगायत विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत दिएको छ ।