हुम्लामा काठको साँघु तर्ने क्रममा नदीमा खसेर दुई जना बेपत्ता

सिमकोट । हुम्लामा काठको साँघु तर्ने क्रममा चिप्लिएर नदीमा खस्दा दुई जना बेपत्ता भएका छन् । ४२ वर्षीय जस्या रावल र १६ वर्षीया सुनिता रावल नदीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

 

हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली र बाजुराको कवाडी सीमाक्षेत्रमा अवस्थित यार्बाबाट उनीहरु बेपत्ता भएको जनाइएको छ ।

 

उनीहरु बाजुराको वन क्षेत्रमा जडीबुडी सङ्कलन गर्न जाने क्रममा बुधबार साँझदेखि बेपत्ता भएको स्थानीयवासी तारा रावलले जानकारी दिइन् । हराइरहेकाहरुको खोजी जारी रहेको उनको भनाइ छ ।

 

जडीबुटी सङ्कलनका लागि थाली गाउँका करीब ३० जना गएको बताइएको छ। हुम्लासहित बाजुरा, मुगु, बझाङलगायतका जिल्लाका बासिन्दा यस याममा जडीबुटी सङ्कलन गर्न पाटनतिर जाने गर्दछन् ।