किसानलाई तत्काल राहत र क्षतिपूर्ति दिन सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषि सहायता कोष खडा गरी बाढी तथा पहिराबाट प्रभावित किसानलाई राहत दिन सरकारसँग आग्रह गरेका छन ।

 

 

आज एक विज्ञप्ति जारी गर्दै उनले बाढी र पहिराबाट सबैभन्दा बढी किसान प्रभावित भएको जनाउँदै उनीहरुलाई तत्काल राहत र क्षतिपूर्ति दिन आग्रह गरेका हुन।

 

 

धानवाली थन्काउने बेलामा आएको अविरल वर्षाका कारण किसानका धानलगायत बालीनालीको ठूलो क्षति भएको छ । धान काटेर सुकाइएका खेतमा बाढी पसेपछि ठूलो मात्रामा धान नष्ट भएको छ ।

 

 

 

अध्यक्ष दाहालले बाढीपहिरामा फसेका नागरिकको उद्धार र राहत, घाइतेको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकको खानपान र बसोबासको व्यवस्था मिलाउन पनि अनुरोध गरेका छन।

 

 

 

पछिल्ला तीन दिनदेखि देशभर परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी प्रदेश नं १, सुदूरपश्चिम प्रदेशलगायत देशका विभिन्न भागमा ४८ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरामा परी झण्डै ३० भन्दा बढी नागरिक सम्पर्कविहीन भएका छन् ।

 

 

 

अध्यक्ष दाहालले विपदमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन।

 

 

उनले बाढीपहिरामा परी बेपत्ता भएकाको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र सङ्घका सुरक्षालगायत सबै सरकारी निकाय, स्थानीय स्वयम्सेवी, विभिन्न सङ्घसंस्था, व्यक्ति, युवा र पार्टीका नेता तथा कार्यकर्तामा विशेष आग्रह गरेका छन।