सुदूरपश्चिममा बाढी पहिरोबाट ३० को मृत्यु

काठमाडौं। अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी सुदूरपश्चिम प्रदेशमा आज बिहानसम्म ३० जनाको मृत्यु भएको छ ।

 

 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरो, डुबानमा परी डोटीमा १५, बैतडीमा चार, डडेलधुरामा दुई, बझाङमा आठ र कैलालीमा एक जनाको मृत्यु भएको छ ।

 

 

यस्तै विपद्मा परी घाइते हुने १६ जना पुगेका छन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङमा एक गरी १६ जना घाइते भएका छन्।

 

 

डोटीमा विपदमा परी मृत्यु हुने थप व्यक्तिमा बड्डीकेदार गाउँपालिकाका ५० वर्षीया चनरीदेवी नेपाली, जोरायल गाउँपालिकाका १५ वर्षीय पुस्कर विक, शिखर नगरपालिकाका २६ वर्षीया मन्धरा बलायर र सायल गाउँपालिकाका ७४ वर्षीय वीरे रोकाया छन् ।

 

 

 

यस्तै बझाङको खप्तडछान्ना गाउँपालिकाका ४९ वर्षका बिरु गिरी, ४५ वर्षीया चन्द्रदेवी गिरी, ४८ वर्षका धर्म रोकाया, ४५ वर्षीया जैसरादेवी रोकाया, ६८ वर्षीय रने आग्री, थलारा गाउँपालिकाका छ वर्षीय आयुस पार्की र सात वर्षका विकास पार्कीको पनि मृत्यु भएको पुष्टि भएको छ ।

 

 

 

विपदमा परी बझाङमा २१ र बैतडी, कैलाली, डोटी जिल्लामा एक÷एक गरी २४ बेपत्ता भएका छन् । बझाङको थलारामा गएको पहिरोमा परी बेपत्ता भएकाको खोजी कार्य भइरहेको छ ।

 

 

 

उक्त ठाउँमा नेपाली सेनाको हेलिकोप्टरमार्फत ४० जनाको टोली घटनास्थलमा खटिएकोे छ । पहिरो गएको ठाउँबाट दुई जनाको शव निकालिएको छ ।