तुलसीपुरमा बस दुर्घटना हुँदा एकको मृत्यु, २१ जना घाइते

काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी २१ जना घाइते भएका छन्।

 

 

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना ६ ख ७६३३ नम्बरको यात्रुबाहक बस मोतीपुरको ओरालोमा सडकदेखि तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

 

दुर्घटनामा परी घोराही नगरपालिका–१० का २८ वर्षीय प्रेम नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले जानकारी दिए ।

 

 

घोराही–तुलसीपुर सडक अस्तव्यस्त हुनुका साथै सडक भत्किएका कारण ब्रेक लगाउँदा सडक छेउमा पल्टिएर बस दुर्घटनामा परेको एसपी काफ्लेले बताए ।

 

 

बसले च्यापेका २२ वर्षीय एक युवकलाई जेसीभीको सहयोगमा उद्धार गरिएको प्रहरीले जनाएको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।