प्रहरी नियमावली संशोधन: बढुवा चलखेल गर्ने ठाउँ कायमै

काठमाडौं । नेपाल प्रहरीमा साना प्रहरीलाई राहत दिने गरी प्रहरी नियमावली संशोधन गरिए पनि बढुवा समितिले चलखेल गर्न पाउने अवस्था भने कायमै रहेको छ ।

 

 

 

प्रहरी नियमावली संशोधन हुँदा बढुवा समितिले दिने पुरानो अंकलाई कायमै राखिएको छ । सरकारले नेपाल प्रहरीका जुनियर कर्मचारीलाई सुविधा बढाउने भन्दै सोमबार संशोधन गरेको प्रहरी नियमावलीमा बढुवा समितिले दिने ७.५ नम्बरलाई यथावत राखेर नियमावली संशोधन भएको हो ।

 

 

जुनियर प्रहरी अधिकृतलाई नयाँ पद सिर्जना गर्ने लगायतका प्रावधानसहित बढुवा समितिले चलखेल गर्न पाउने प्रावधान यथावत राखिएको हो।

 

 

नियमावली संशोधनमा विभूषणको नम्बर हटाउने भनेपनि त्यो पनि यथावत राखिएको छ । गृहमन्त्रालय स्रोतका अनुसार बढुवा समितिले दिने नम्बर र विभूषण वापत पाउने नम्बरमा परिवर्तन गर्न माथिल्लो तहबाटै दबाब आएपछि संशोधन हुन नसकेको हो ।

 

 

 

संशोधित नियमावलीमा बढुवाको सय पूर्णांकमध्ये विभूषणवापत दुई नम्बर जोडिन्छ । प्रहरी प्रधान कार्यालयको सिफारिसभन्दा पहुँचको आधारमा विभूषण लिने बढेपछि सो प्रावधान हटाउने तयारी थियो ।

 

 

 

त्यस्तै बढुवा समितिमा रहने व्यक्तिहरुले पनि चिनेजानेकालाई धेरै नम्बर दिने भएकाले त्यसवापतको नम्बर पनि घटाउने तयारी थियो । जसमा सबैभन्दा धेरै नम्बर ल्याउनेहरू बढुवामा सिफारिस हुने गरेका छन् ।

 

 

 

 

कार्यसम्पादन मूल्यांकनमा अब्बल रहेपनि विभूषण र बढुवा समितिको बैठकपछि त्यस्ता व्यक्तिहरु छुट्दै आएका छन् । सयमध्ये ४० नम्बर कार्यसम्पादन मूल्यांकन र २० ज्येष्ठताका आधारमा तय हुन्छ ।

 

 

 

नियमावली संशोधनपछि ज्येष्ठताबापत २२ नम्बर हुनेछ । जसअनुसार अब ज्येष्ठ प्रहरी अधिकृतहरू बढुवामा पर्ने सम्भावना धेरै छ ।

 

 

 

हाल भौगोलिक क्षेत्रमा काम गरेको अनुभवका आधारमा ८, शैक्षिक योग्यताबापत १०, तालिमबापत ७।५, चुनौतीपूर्ण तथा विशेष जिम्मेवारीबापत पाँच र बढुवा समितिले दिने ७.५ अंक हुन्छ ।

 

 

 

सरकारले यसलाई जस्तातस्तै राखेको स्रोतले जनाएको छ । विभूषणको नम्बर ज्येष्ठतामा जोडेपछि यसले बढुवालाई अपारदर्शी र निष्पक्ष नबनाउने विश्लेषण नेपाल प्रहरीमा छ । नेपाल प्रहरी लगायत सुरक्षा निकायमा विभूषण पाउनेको सूचीमा ठूलो संख्या सुरक्षाकर्मीको छ ।

 

१७ हजार प्रहरी कर्मचारी बढुवाको लाइनमा

 

सोमबार बसेको मन्त्रिपरिषद बैठकबाट सरकारले प्रहरी नियमावली संशोधन गरेपछि प्रहरीमा वरिष्ठ सई, वरिष्ठ हवल्दारको नयाँ पद सिर्जना भएको छ ।

 

 

 

बढुवामा लामो समय रोकिनुपर्ने बाध्यता रहेको भन्दै नेपाल प्रहरीले जुनियर प्रहरी अधिकृतका लागि वरिष्ठ सई र वरिष्ठ हवल्दारको व्यवस्था गरेको हो ।

 

 

 

सहायक हवल्दारको पनि व्यवस्था भएको मन्त्रालयले जनाएको छ । सईबाट इन्स्पेक्टर तथा जवानबाट हवल्दार बढुवामा १५ वर्षभन्दा लामो समय लाग्ने समस्या देखिएपछि बीचमा नयाँ पद थप्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयले गरेको थियो ।

 

 

 

गृहले स्वीकृत गरेको करिब पाँच महिनापछि मन्त्रिपरिषदबाट नियमावली स्वीकृत भएको हो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयन हुनेछ ।

 

 

 

यसले प्रहरीको तल्लो तहमा थोरै भए पनि उत्साह थपिने प्रहरी अधिकारीहरूको भनाइ छ । नियमावली कार्यान्वयन भएसँगै एकैपटक सिनियर सई र जवान एक तह बढुवा हुनेछन् ।

 

 

 

उनीहरूको ग्रेड पनि ज्येष्ठताअनुसार नै कायम राख्ने गरी प्रहरी प्रधान कार्यालयले तयारी गरेको छ । प्रहरीमा वर्षौँदेखि यी पद थप्नेबारे छलफल हुँदै आएकोमा अहिले निर्णय भएको हो ।

 

 

 

नियमावली संशोधनसँगै अब कार्यालय सहयोगीको पनि पाँच श्रेणी हुने भएको छ । यसअघि कार्यालय सहयोगीको बढुवा हुँदैन थियो ।

 

 

उनीहरूको पनि सेवा–सुविधा बढ्ने भएको छ । प्रहरी नियमावली संशोधन गरेर सिर्जना गरिएका वरिष्ठ सई, वरिष्ठ हवल्दार र सहायक हवल्दार पदमा एकैपटक १७ हजार पाँच सय १७ प्रहरी बढुवा हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ  ।

 

 

 

संशोधित नियमावली अनुसार सइको २५ प्रतिशत दरबन्दी वरिष्ठ सईमा रूपान्तरण हुनेछ । नेपाल प्रहरीमा सईको तीन हजार नौ सय २८ दरबन्दी छन्  ।

 

 

 

 

जसअनुसार अहिले ज्येष्ठताक्रममा रहेका नौ सय ८२ जना वरिष्ठ सईमा रूपान्तरण हुनेछन् । तर यसरी बढुवा गर्दा उनीहरूको अहिलेकै ग्रेड कायम हुनेछ । नयाँ पदमा बढुवा गर्दा एउटै ब्याचका सबैजना पर्नेछन् । सहायक हवल्दार र वरिष्ठ हवल्दारमा पनि यही नियम लागू हुनेछ ।

 

 

 

हवल्दार र वरिष्ठ हवल्दारको हकमा भने ३० प्रतिशत दरबन्दीलाई माथिल्लो पदमा कायम गरिएको छ । जवानको हाल ४० हजार पाँच सय ८२ दरबन्दी छ ।

 

 

 

 

जसअनुसार १२ हजार एक सय ७४ प्रहरी सहायक हवल्दारमा बढुवा हुनेछन्  । त्यस्तै, चार हजार तीन सय ५५ हवल्दार वरिष्ठ हवल्दारमा बढुवा हुनेछन् । हाल हवल्दारको दरबन्दी १४ हजार पाँच सय १७ छ ।