राप्रपाको अध्यक्षमा लिङ्देन विजयी, कमल थापा पराजित

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

 

आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन्। राजेन्द्रले एक हजार आठ सय ४४ मत ल्याएका छन्।

 

उनले अध्यक्षका अर्का उम्मेदवार कमल थापालाई हराएका छन्। थापाले जम्मा एक हजार छ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो। लिङ्देनले सुरूदेखि नै मतगणनामा अग्रता लिएका थिए।

 

 

थापाले सामाजिक सन्जालमा लेखेका छन्, ‘प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्विकार गर्दछु । नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई तथा शुभकामना ।’

 

 

मतको अन्तिम परिणाम भने सार्वजनिक हुन बाँकी छ । शनिबार अबेर रातिसम्म भएको मतदानमा ३ हजार ८ सय ७३ मत खसेको थियो ।