फेरि बढायो सरकारले पेट्रोल,डिजलको मूल्य

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य सरकारले फेरि बढाएको छ । योसँगै पेट्रोलको मूल्यले उच्च विन्दुमा नयाँ रेकर्ड कायम गरेको छ।

 

 

 

मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी साविकको बिक्री मूल्यमा पेट्रोल र डिजलरमट्टीतेल प्रतिलिटर रु. ३ ले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।

 

 

अब पेट्रोल १४२ र डिजलरमट्टीतेलको मूल्य प्रतिलिटर १२५ रुपैयाँ कायम भएको छ । यसअघि २०७० साल फागुन ३० गते भएको समायोजनअनुसर पेट्रोलको मूल्य प्रतिलिटर १४० रुपैयाँसम्म पुगेको थियो ।

 

 

 

आन्तरिक हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँले वृद्धि गरी बिक्री मूल्य ११६ रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रतिकिलो लिटर अमेरिकी डलर १०० ले वृद्धि गरी प्रतिकिलोलिटर बिक्री मूल्य अमेरिकी डलर १ हजार ९५ कायम भएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

 

 

 

एलपी ग्याँसको नयाँ खरीद मूल्य प्रति सिलिण्डर ८१. ६२ रुपैयाँले घटेर आए पनि अझै निगमलाई प्रतिसिलिण्डर ५६०.०९ रुपैयाँ घाटा रहेको हुँदा समेत बिक्री मूल्य नबढाई यथावत् नै राखिएको निगमले जनाएको छ ।

यो समायोजनपछि निगमको १५ दिनको घाटा ३७ करोडले घटेर करीब २ अर्ब २३ करोड रुपैयाँ कायम हुने निगमले जानकारी दिएको छ ।