लिटरमा १४ रुपैयाँसम्म बढ्यो दूधको मूल्य,अब एक लिटरको कति ?

काठमाडौं । सरकारले देशभर लागू हुने गरी दूधको मूल्य बढाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुमति दिएसँगै सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी)ले प्रतिलिटर ९ देखि १४ रुपैयाँ बढाएर दूधको मूल्य सार्वजनिक गरेको छ ।

 

निजी डेरीहरूले पनि मूल्यवृद्धिबारे छलफल गरेका छन् र केही दिनमा नयाँ मूल्य तोक्ने बताएका छन् ।

 

 

डीसीसीका कार्ययोजना तथा बजार व्यवस्थापन विभाग प्रमुख सजीव झाले भने डीडीसीका दूधमा शुक्रबारदेखि मूल्य बढ्ने उनले बताए ।

 

 

 

‘संस्थानको सातवटा दूग्ध विकास आयोजनाबाट उत्पादन हुने विभिन्न ब्राण्डका चार प्रकारका दूधको मूल्य बढाउने निर्णय भएको छ । 

 

 

डीडीसीले बिक्री गर्ने स्ट्यान्डर्ड दूध (निलो प्याकेट)को बजार मूल्य काठमाडौं, विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर मूल्य ८५ रुपैयाँ तोकिएको छ । यस्तै बुटवल, भैरहवामा एक लिटरको मूल्य ८१ रुपैयाँ, नेपालगञ्ज र धनगढी क्षेत्रमा ७९ रुपैयाँ कायम भएको छ ।

 

 

 

यसअघि यस्तो दूधको मूल्य काठमाडौंमा ७६, बुटवल भैरहवामा ७२ र नेपालगञ्ज क्षेत्रमा प्रतिलिटर ७० रुपैयाँ थियो । नीलो प्याकेटको आधा लिटर दूधको मूल्य काठमाडौं, हेटौंडा, विराटनगर र जनकपुरमा यसअघि ३८ रुपैयाँ रहेकामा अब बढेर ४२ रुपैयाँ ५० पैसा पुगेको छ ।

 

 

 

लुम्बिनीमा आधा लिटरको ४० रुपैयाँ ५० पैसा र नेपालगञ्ज र धनगढी क्षेत्रमा ३९ रुपैयाँ ५० पैसा मूल्य तोकिएको छ ।

 

हरियो प्याकेटमा १४ रुपैयाँ वृद्धि

 

पाँच प्रतिशत फ्याट हुने फुलक्रिम (हरियो प्याकेट) को दूधको मूल्य लिटरमा १४ रुपैयाँसम्म बढेको छ । काठमाडौंमा यस्तो दूधको मूल्य प्रतिलिटर ११४ रुपैयाँ कायम भएको छ । विराटनगरमा १०४, हेटौंडा र जनकपुर क्षेत्रमा १०२ र लुम्बिनी, नेपालगञ्ज र धनगढी क्षेत्रमा १०० रुपैयाँ कायम भएको छ ।

 

 

डीडीसीले बिक्री गर्ने गाईको दूध (पहेँलो प्याकेट) को मूल्य लिटरमा १० देखि १२ रुपैयाँसम्मले बढेको छ । अब यस्तो दूधको मूल्य काठमाडौंमा प्रतिलिटर १०२ रुपैयाँ, विराटनगरमा एक सय रुपैयाँ र हेटौंडा–जनकपुर क्षेत्रमा ९६ रुपैयाँ कायम भएको छ ।

 

 

लुम्बिनी, नेपालगञ्ज र धनगढीमा यस्तो दूधको मूल्य ९० रुपैयाँबाट बढेर एक सय रुपैयाँ पुगेको छ ।

 

 

डीडीसीले चिया दूध भनेर बिक्री गर्दै आएको दूधको मूल्य लिटरमा १० रुपैयाँले बढेको प्रतिलिटर ८० पुगेको छ । विराटनगर, हेटौंडा र जनकपुरमा प्रतिलिटर ७४ रुपैयाँ कायम भएको छ । लुम्बिनी, नेपालगञ्ज र धनगढीमा ७० रुपैयाँ बनाइएको छ ।

 

निजी डेरीले पनि बढाउँदै

 

निजी क्षेत्रका दूग्ध उत्पादक कम्पनीले पनि मूल्य बढाउने गृहकार्य भइरहेको छ। बिहीबार यस विषयमा छलफल भए पनि मूल्यको टुंगोमा नपुगेको नेपाल डेरी एशोसिएसनले जनाएकाे छ।  

 

 

निजी क्षेत्रको आकलनअनुसार नेपालमा धेरै दूध उत्पादन हुने समयमा दैनिक ६० लाख लिटर दूध उत्पादन हुन्छ । तर, त्यसको १७ प्रतिशतमात्र बजारमा बिक्री हुने गरेको छ ।