नेपाल पत्रकार महासंघ चितवनको आयोजनामा एक अन्तर्क्रिया कार्यक्रम भव्यरुपमा सम्पन्न

  चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजनामा स्थानीय तह निर्वाचन २०७९ को सन्दर्भमा पत्रकारहरुले पालना गर्नुपर्ने आचारसंहिता विषयक एक अन्तरक्रिया कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको छ।
 
 
 
 
कार्यक्रममा प्रमुख जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारी , चितवन निर्वाचन कार्यालय प्रमुख भिमसेन कार्की , नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल , केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सिजवाल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायण प्रसाद अधिकारी , प्रेस युनियन केन्द्रीय उपाध्यक्ष दिपक आचार्य , प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवाल, क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम कडेल, प्रेस युनियनका चितवन अध्यक्ष अनिल ढकाल, प्रेस सेन्टर वाग्मती प्रदेश सचिव शशिधर गैरेलगायत जिल्लामा आबद्ध पत्रकारहरुको उल्लेख्य उपस्थिति थियो।
 
 
 
 
 
चितवनका प्रमुख निर्वाचन अधिकृत जिल्ला न्यायाधीश प्रकाश कुमार अधिकारीले पत्रकारले कुनै राजनीतिक दल वा व्यक्तिबाट चन्दा , उपहार , दानदातव्य लिन नहुने , कसैको प्रभावका समाचार लेख्न नहुने र सत्यतथ्य निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए।
 
 
 
 
पत्रकार आफैंमा सजग र सचेत भएको वर्ग भएकोले यसको नैतिकताको आधार बलियो हुने बताए।
 
 
 
 
 
चितवन जिल्ला निर्वाचन कार्यालय प्रमुख भिमसेन कार्कीले राजनीतिक दलले आचारसंहिता उल्लंघन गरेको पाईएमा सूचना दिन आग्रह गर्दै सुचनादाताको विवरण गोप्य राखिने बताए। राजनीतिक दलले प्रयोग गर्ने झन्डा, प्रचार सामाग्रीको आकार निर्वाचन आचारसंहिताले तोके बमोजिम हुनुपर्नेमा जोड दिए।
 
 
 
 
 
 
सो कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सिजवालले निर्वाचनको क्रममा आईपर्ने चुनौती र सहजीकरण, विकृति विसंगतिलाई व्यवस्थित हल गर्नुपर्नेमा जोड दिदै निर्वाचन स्वतन्त्र , स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न केन्द्र, प्रदेश र जिल्लामा समन्वय गर्नुपर्ने बताए।
 
 
 
 
 
पत्रकार महासंघ सचिव दिपेन्द्र अधिकारीले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण प्रसाद अधिकारीले पत्रकारका आचारसंहिता उल्लंघनका समाचार आएकोले जिल्लाका सबै पत्रकारहरुलाई नियम पालना गरेर पत्रकारिता गर्न सुझाव दिए। उनलेे पत्रकार कहिल्यै दल र पार्टीको नहुने पनि बताए।
 
 
 
 
 
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकार महासंघको विधान संसोधनको आवश्यकता ओैंल्याउदै राजनीतिमा विधानको व्यवस्था विपरीत जाने पत्रकारलाई हटाउनुपर्ने धारणा उल्लेख गरे।
 
 
 
 
 
उनले विधान विपरीत उम्मेदवार बनेका पत्रकारहरुको महासंघको सदस्य स्वतः खारेजी हुने बताए। प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष दिपक आचार्यले नागरिकको मौलिक अधिकार सुनिश्चित गर्ने अभियानमा लामबद्ध हुन र जनउत्तरदायी बन्न सम्पूर्ण पत्रकारहरुमा आग्रह गरे।
 
 
 
 
कार्यक्रममा निर्वाचन तयारीका क्रममा उल्लघंन भएका घटनाबारे संक्षिप्त प्रतिक्रिया राख्दै पत्रकार मधुसूदन दवाडीले निर्वाचनमा निष्पक्षताका विषय र पेसागत मर्यादा विश्वसनीयता कायम गर्नुपर्नेमा जोड दिए।
 
 
 
 
 
अबको युगमा राजनीतिक र मिसन पत्रकारिता नचल्ने बताउँदै बताए। उनले निर्वाचनको अभियानमा पत्रकार हिड्नु कत्ति पनि उपयुुक्त नहुने उल्लेख गरे। पत्रकार महासंघको आचारसंहिता पालना गरे मात्र निर्वाचन आचारसंहिता स्वतः पालना हुने बताए।
 
 
 
 
 
कान्तिपुर दैनिकका पत्रकार रमेशकुमार पौडेलले पत्रकारले ऐन, नियम र कानुनको अधिनमा रही निर्वाचनमा भुमिका खेल्नुपर्ने बताए।सामाजिक सञ्जालमा पत्रकारले नकारात्मक सन्देश , सुचना प्रवाह गर्न नहुने र अधिकारीलाई भेटेर आधिकारिक सूचना लिने तथा निर्वाचनका क्रममा प्रशासनिक निकाय र राजनीतिक दल उत्तरदायी हुनुपर्ने बताए।
 
 
 
 
प्रेस युनियनका अध्यक्ष अनिल ढकालले सामाजिक सञ्जालमा नेतालाई भन्दा पत्रकारलाई छरपष्ट लागेको देखिनु विडम्बना भएकोमा टिप्पणी गरे। प्रेस चौतारीका केन्द्रीय सदस्य प्रतिमा सिलवालले पत्रकार महासंघले अनुगमन गर्नुपर्ने र सक्रिय पत्रकारलाई पेसामा टिकाउन गार्हो भएको अवस्था इंगित गरिन्।
 
 
 
 
क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम कडेलले नेपाल विश्वमै सबैभन्दा बढी राजनीतिकरण भएको देश भएको बताउँदै पत्रकार स्वतन्त्र र जिम्मेवार बन्न आग्रह गर्दै संचार प्रतिष्ठानसम्बद्ध पत्रकारले ११ बुँदे आचारसंहिता पालना गरेर भूमिका खेल्न सबै सबैमा आग्रह गरे।
 
 
 
 
चितवन पोष्ट दैनिकका पत्रकार प्रकाश अर्यालले एउटा पार्टीको भन्दा सबै पार्टीको विज्ञापन अनलाइन पत्रिकामा हाल्दा विचार गर्नुपर्नेमा टिप्पणी गरे।
 
 
 
 
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेल लगायत विशिष्ट अतिथि प्रमुख निर्वाचन अधिकृत , जिल्लामा कार्यरत संचारगृह र संस्थाका उपस्थित सम्पूर्ण पत्रकारहरुमा नेपाल पत्रकार महासंघ चितवनका नारायण प्रसाद अधिकारीले हार्दिक आभारसहित धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गरे।