हुलाकी सडक निर्माण सुस्त, २३ महिनामा ३५ प्रतिशत मात्र काम

काठमाडौं। । कैलालीस्थित हुलाकी सडकखण्ड स्तरोन्नतिको काम सुरु भएको २३ महिना पुगिसक्दा पनि ३५ प्रतिशतभन्दा माथि नभएकामा स्थानीयवासीले गुनासो गरेका छन् ।

 

 

 

 

तीस महिनामा सम्पन्न गर्नुपर्ने सडक ३५ प्रतिशतमात्रै निर्माण भएपछि स्थानीयवासीले समयमै काम सक्नुपर्ने जनाउँदै दबाब दिन थालेका छन् ।

 

 

 

स्थानीयवासी सुधा चौधरी सडक स्तरोन्नतिमा भइरहेको ढिलाइबारे निर्माण कम्पनीलाई कडाइ गर्न आवश्यक रहेको बताउनुहुन्छ ।

 

 

 

 

जताततै सडक धुलाम्मे छन्, मानिसलाई आवतजावतमा समेत समस्या छ,उहाँले भन्नुभयो,यसले मानिसलाई समस्या भएको छ ।

 

 

दुई वर्ष पुग्न लाग्दा पनि सडक पूरा नहुँदा नागरिकलाई कति सास्ती भएको छ भन्न सकिँदैन ।

 

 

 

सम्झौता मितिअनुसार काम सम्पन्न गर्न अब सात महिनामात्र बाँकी छ । तीनवटा नयाँ र दुईवटा पुराना खण्ड गरी पाँच खण्डमा विभाजन गरेर काम भइरहेको छ ।

 

 

 

पुरानो खण्डको काम अन्तिम चरणमा पुगिसकेको भए पनि नयाँ खण्डको भने कामको प्रगति सन्तोषजनकन रहेको हुलाकी राजमार्ग योजना कार्यालय धनगढीका इञ्जीनियर पदम मडै बताउनुहुन्छ ।

 

 

 

 

“पुराना ठेक्का भएका सडकको काम सन्तोषजनक छ, विसं २०७७ मा भएका नयाँ ठेक्काहरूको प्रगति सन्तोषजनक छैन”, उहाँले भन्नुभयो, “नयाँ ठेक्का भएका काममा ढिलाइ भइरहेको छ ।

 

 

 

 

योजनाको काम समयमै सम्पन्न नहुँदा स्थानीय नागरिकदेखि निर्माण व्यवसायीलाई समेत घाटा हुने देखिन्छ ।

 

 

 

त्यस विषयमा आफूहरु पनि सचेत रहेको र निर्माण व्यवसायीलाई पटक–पटक ध्यानाकर्षण गराएको तथा कोरोना महामारीबाहेक अन्य बहानामा काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरिने इञ्जीनियर मडैले बताउनुभयो ।

 

 

 

 

‘‘हामीले एकदम ताकेता गरेका छौँ, पटक–पटक छलफल गरेका छौँ, स्थानीय सरकारसँग पनि सहजताका लागि छलफल गरेका छौँ”, उहाँ भन्नुहुन्छ, “सडक निर्माणका लागि कुनै समस्या छैन, ढिलाइ हुनुमा निर्माण व्यवसायीकै कमजोरी छ । अब समयमै काम नगरेको दोष उहाँहरुले नै पाउनुपर्छ ।

 

 

 

टीकापुर नगरपालिकाको सत्तीबाट धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकसम्म १८ किलोमिटरबाहेक ४४ किलोमिटर सडकको स्तरोन्नतिका लागि ३० महिनाभित्र काम सम्पन्न गर्ने गरी स्वच्छन्द जोशी जेभीले काम गरिरहेको छ ।

 

 

 

 

स्वच्छन्द जोशी जेभीले रु ९७ करोड ५७ लाखमा २०७७ असारमा हुलाकी राजमार्ग निर्देशनालयसँग ठेक्का सम्झौता गरी काम सुरु गरेको हो । यो सम्झौताअनुसार निर्माण व्यवसायीले २०७९ पुस मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

 

 

 

तर निर्माण कम्पनी स्वच्छन्द जोशी जेभीका सञ्चालक गणेश जोशी भने आफूले ठेक्का सम्झौता गरिसकेपछि कोरोनाका कारण दुईपटक बन्द हुँदा काममा ढिलाइ भएको बताउनुभयो ।

 

 

 

समयमै काम सम्पन्न गर्न त सक्दैनौँ”, उहाँले भन्नुभयो, “काम सम्पन्न गर्न सम्झौता मितिमा एक वर्ष समय थप गर्नुपर्ने आवश्यक छ । हामीले म्याद थपका लागि अनुरोध गर्छौँ ।

 

 

 

तीस महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता भएको योजनाको काम २३ महिना बितिसक्दा अर्थात् सम्झौता मितिको ७५ प्रतिशत समय सकिँदा पनि ३५ प्रतिशतमात्रै कामको प्रगति हुनु राम्रो नभएको सरोकारवाला बताउँछन् ।

 

 

सडक निर्माण भइरहेको क्षेत्रमा स्थानीय सरकारले समेत निगरानी र कडाइ गर्न आवश्यक रहेको स्थानीयवासीको माग छ ।