बिजुली नपुगेका विद्यालयमा फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा

हुम्ला । नाँम्खा र सिमकोट गाउँपालिकाका तीसवटा आधारभूत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवा जडान हुने भएको छ ।

 

 

नेपाल टेलिकमको ग्रामीण दूरसञ्चार कार्यक्रम अन्तर्गत उक्त इन्टरनेट सेवा जडानका लागि सामग्री विद्यालयलाई हस्तान्तरण गरिएका हो ।

 

 

 

नाँम्खा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले गाउँपालिकाको १७ वटा आधारभूत विद्यालयलाई फोरजी ब्रोडब्याण्ड इन्टरनेट सेवाका लागि मसिनहरु वितरण गरिएको बताए ।

 

 

यसबाट ती विद्यालयमा इन्टरनेटको पहुँच पुुग्नेछ । विद्यालयमा इन्टरनेट प्रविधिको पहुँच बढाउन नेपाल टेलिकमले सो सामग्री उपलब्ध गराएको र गाउँपालिकाले विद्यालयलाई सामग्री हस्तान्तरण गरेको उनले बताए ।

 

 

 

विद्युतको व्यवस्था भएका विद्यालयमा तत्काल र नभएका विद्यालयमा गाउँपालिकाले सोलारको व्यवस्था गरेर सो सेवा जडान गर्ने बताइएको छ ।

 

 

 

त्यसैगरी टेलिकमको सोही कार्यक्रम अन्तर्गत सिमकोट गाउँपालिकाका १३ वटा विद्यालयलाई पनि मसिनसहित सामग्री वितरण गरिएको छ । गाउँपालिकाले एक–दुई दिनमा प्राविधिक खटाएर इन्टरनेट सेवा जडान गर्ने भएको छ ।

 

 

 

सिमकोटका अधिकांश विद्यालय विद्युतको पहुँचमा रहेका छन् । सिमकोट गाउँपालिका–२ को पन्चमुखी आधारभूत विद्यालयका शिक्षक लक्ष्मण बोहराले हाल इन्टरनेटको पहुँचविनै पठनपाठन भइरहेकोबेला सो सेवा जडानपछि विद्यालयलाई अतिरिक्त क्रियाकलाप खोजेर पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।

 

 

जिल्लाका अन्य पाँचवटा गाउँपालिकाका सवै आधारभूत विद्यालयमा सो कार्यक्रम परेको छ ।

-गोरखापत्र