विराटनगरमा होटल ‘र्‍याडिशन’सहित सुविधासम्पन्न मल खुल्ने

काठमाडौँ । विराटनगरमा पनि पाँच तारे होटल र्‍याडिशन खुल्ने भएको छ । हाल काठमाडौँमा समेत रहेको होटल र्‍याडिसन अब विराटनगरमा पनि खुल्ने भएको हो ।

 

 

 

यसबारे सोमबार काठमाडौंको होटल र्‍याडिशनमा अन्तराष्ट्रिय चेन र्‍याडिशन होटल ग्रुप र सेञ्चुरियन होटलबीच समझदारी–पत्रमा हस्ताक्षर भएको छ ।

 

 

 

उक्त समझदारी–पत्रमा सेञ्चुरी ग्रुप अफ कम्पनीका अध्यक्ष मोतिलाल दुगड र र्‍याडिशन होटल ग्रुप, साउथ एशियाका प्रबन्ध निर्देशक जुविन साजेनाले हस्ताक्षर गरेका हुन् ।

 

 

 

समझदारी अनुसार विराटनगरमा खुल्ने उक्त होटल सन् २०२४ को जनावरीबाट सञ्चालनमा ल्याउने लक्ष्य छ । होटलमा १४० कोठाको हुनेछ ।

 

 

होटल परिसरमै स्वीमिङ पुल, जीम, स्पा तथा १० हजार स्वायर फिटको विशेष प्रकारको रेष्टुराँ र बेन्क्युटको पनि व्यवस्था गरिनेछ । साथै क्यासिनोको सुविधा पनि उपलब्ध हुने जनाइएको छ ।

 

 

 

नेपालको उदीयमान शहर तथा औद्योगिक राजधानी विराटनगरमा अहिले सडक विस्तार, विमानस्थल तथा सामुदायिक परियोजना र उद्योगहरुको विकास तीव्र भइरहेको छ ।

 

 

 

यसै क्रममा त्यहाँ खुल्ने पाँच तारे होटलका कारण त्यसको क्षेत्रका व्यवसायी र देश–विदेशबाट आउने पर्यटकहरु लाभान्वित हुने अध्यक्ष दुगडले बताए ।

 

 

 

‘एक नम्बर प्रदेश भ्रमणमा आउने पर्यटक र यस क्षेत्रका मानिसहरुलाई उच्चस्तरको सेवा दिने योजनाका साथ हामीले काम अगाडि बढाएका छौं,’ समझदारीपछि दुगडले भने, ‘यसमा विश्व प्रसिद्ध चेन होटल र्याडिशनलाई भित्र्याउन पाउँदा हामीलाई गर्व र खुशी लागेको छ ।

 

 

 

 

उक्त होटल सेन्चुरियन ग्रुपको लगानीमा निर्मित मलमा रहने जनाइएको छ । विराटनगर एयरपोर्टबाट ४.२ किमि, जोगवनी रेलवे स्टेशनबाट १५ मिनेटको दुरी र भारतको सीमाबाट जम्मा ८.६ किमि दुरीमा अवस्थित उक्त मल साढे एक विगा जमिनमा निर्माण हुन लागेको छ ।

 

 

 

 

मलमा सपिङ सेन्टर, कर्पोरेट अफिस, मनोरञ्जनस्थल, केएफसी तथा पिज्जाहट लगायतका सुविधा पनि उपलब्ध हुने बताइएको छ ।

 

 

 

 

होटलसहितको मल निर्माण गर्न करिव ३ अर्ब लगानी आवश्यक पर्नेमा त्यसको ४० प्रतिशत सेयर पुँजीबाट जुटाइने जनाइएको छ । बाँकी ६० प्रतिशत भने बैंकको कर्जाबाट लगानी जुटाइने छ।