सुदूरपश्चिममा कोरोना संक्रमण बढ्न थालेपछि नियन्त्रणमा जुट्दै प्रदेश सरकार

काठमाडौं।सुदूरपश्चिममा साउन महिना सुरु भएयता दिन प्रतिदिन कोरोना संक्रमण बढ्न थालेपछि प्रदेश सरकार रोकथाम तथा व्यवस्थापनमा जुटेको छ।

 

 

 

साउन १ गते सुदूरपश्चिम प्रदेशमा ३ जनामा देखिएको संक्रमण दैनिक बढ्दै साउन १८ सम्म पुग्दा दैनिक ५४ जनामा देखिएको छ। यसरी दैनिक संक्रमण तीव्र रुपमा बढेपछि प्रदेश सरकार नियन्त्रण र व्यवस्थापनमा जुटेको हो।

 

 

 

 

अहिले कोरोना संक्रमण रोकथामको तयारी स्वरुप प्रदेश सरकारले सीमा नाकामा कडाइका साथ चेकजाँच गर्ने, अस्पतालमा रहेका आइसीयु तथा भेण्टिलेटरलाई तयारी अवस्थामा राख्ने, जनशक्तिको व्यवस्थापन गर्ने काम गरिरहेको बताएको छ।

 

 

 

यसै क्रममा बिहीबार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा कोरोना संक्रमण रोकथामबारे प्रदेश सरकारले गरिरहेको कामबारे सञ्चारकर्मी र स्वास्थ्यकर्मीसँग अन्तरक्रिया गरेको छ।

 

 

 

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख दयाकृष्ण पन्तका अनुसार सुदूरपश्चिममा कोरोना संक्रमण दर बढ्न थालेपछि बिहीबार सामाजिक विकासमन्त्री गोविन्द बोहराले गौरीफण्टा नाकाको अवस्थाबारेमा स्थलगत अनुगमन गरेका छन्।

 

 

 

सीमा नाकामा अनुगमन गर्दै मन्त्री बोहराले नाकाबाट भित्रिने सबै नागरिकको अनिवार्य स्वास्थ्य परीक्षण गर्न निर्देशन दिएका छन् भने स्वास्थ्य परीक्षणमा खटिएका स्वास्थ्यकर्मीको अवस्था र त्यहाँको समस्याका बारेमा समेत जानकारी लगेका छन्।

 

 

 

मन्त्रालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री बोहराले संक्रमण दिन प्रतिदिन बढ्दो क्रममा रहेकाले प्रदेश सरकार गम्भीरताका साथ यसको रोकथाम र व्यवस्थापनमा लागेको बताए।

 

 

 

उनले साउनयता बढ्दै गएको संक्रमणलाई मध्यनजर गरी भारतीय सीमासँग जोडिएका कैलाली र कञ्चनपुरमा विशेष सर्तकता अपनाइएको बताए। मन्त्री बोहराले सबैले सचेत भएर सामूहिक रुपमा रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्ने बताए।