गाउँपालिकाले निः सन्तान दम्पती र एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने

काठमाडौं।दार्चुलाको व्यास गाउँपालिकाले निः सन्तान दम्पती र एकल पुरुषलाई मासिक सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

 

 

व्यास गाउँपालिकाको ६ नम्बर वडा हुतीमा बसेको कार्यपालिका बैठकले व्यास गाउँपालिकाको स्थानीय सामाजिक सुरक्षा भत्ता कार्यविधि २०७९ पारित गर्दै भत्ता दिने निर्णय गरेको हो ।

 

 

 

बैठकले ४५ वर्ष पूरा भएका विवाह नगरेका वा श्रीमतीको मृत्यु भई अर्को कुनै विवाह नगरेका एकल पुरुष तथा ४५ वर्ष पूरा भएका निःसन्तान दम्पती दुवै जनालाई संघीय सरकारको भत्ता लागू नहुँदासम्म मासिक रूपमा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष मंगलसिह धामीले बताए ।

 

 

 

 

हाल लाभग्राहीलाई मासिक रूपमा ५ सय रुपैयाँ वितरण गरिने छ । यसलाई व्यास गाउँपालिकाले प्रत्येक वर्ष समय सुहाउँदो थप गरी एकल पुरुष र निःसन्तान दम्पतीलाई निरन्तर रूपमा भत्ता दिने उनले जानकारी दिए ।