अनधिकृत संरचना हटाउने कार्य महानगरको अधिकार: मेयर बालेन

काठमाडौं। काठमाडौँ महानगरपालिकाले हाल अभियानका रूपमा भइरहेको अनधिकृत संरचना हटाउने काम कानुन र महानगरको कार्यकारी अधिकार अन्तरगत भइरहेको बताएको छ।

 

 

 

महानगरका प्रमुख बालेन्द्र (बालेन) शाहले आइतबार विज्ञप्ति निकालेर आफ्नो कार्यको कानूनी आधार प्रस्तुत गरेका हुन्।

 

 

‘कतिपयले अनधिकृत संरचना हटाउनु पूर्व न्यायिक निरुपणको पनि अपेक्षा गर्नु भएको रहेछ । गैरकानूनी कार्यको निरन्तरता कायम रहेको अवस्थामा पहिला त्यस्तो कार्यको रोकथाम तथा नियन्त्रण गर्नु पर्ने हुन्छ, त्यसपछि मात्र दोषीलाई कारवाही गर्न न्याय निरूपण गरिन्छ’, मेयर शाहले विज्ञप्तिमा भनेका छन्।

 

 

 

कानूनको अनुपालना गराउने क्रममा भएको कार्यकारिणी वा प्रशासकीय अधिकार प्रयोगको औचित्य यसै सन्दर्भमा बुझ्नु उचित हुने उनले उल्लेख गरेका छन्।

 

 

 

कार्यकारिणीको अकर्मण्यताले सृजित दण्डहीनताले गर्दा हालको भयावह अवस्था आएको भन्दै मेयर शाहले भनेका छन्, ‘न्यायिक निरूपणपछि मात्र अनधिकृत संरचना हटाउनु पर्दथ्यो भन्ने कतिपय भाष्यकारलाई काठमाडौँ महानगरबाट कार्यकारिणी अधिकारको प्रयोग कुन चरणमा हुन्छ र न्यायिक अधिकारको प्रयोग कुन चरणमा हुन्छ बुझिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ ।

 

 

 

 

सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्य तथा नक्सा स्वीकृती गर्दा भूइ तला वा बेसमेन्टलाई पार्किङ्गको प्रयोजन देखाएकोमा पछि अन्य व्यापारिक प्रयोजनमा लगाएको कार्य स्वतः गैरकानूनी हुने उल्लेख छ।

 

 

 

 

‘मिचाहा वर्गलाई कानून मिची रहन र अझ मोटायरहन दिने छैनौँ । आवश्यकता र औचित्यको आधारमा उचित समयमा नै कार्यकारिणी शक्तिको प्रयोग भएमा विधिको शासन स्थापित हुन्छ भन्नेमा हामी विश्वस्त छौँ’, शाहले व्यक्तिमा भनेका छन्, ‘सकेसम्म मिचाहा प्रवृतीको रोकथाम गर्ने, रोकथाम नभए नियन्त्रण गर्ने र अन्ततः न्यायिक निरुपण गरी मिचाहालाई दण्डित पनि गर्ने विकल्प हामीसँग खुला छ।

 

 

 

 

अनधिकृत निर्माण, अतिक्रमण तथा भवनको प्रयोजन परिवर्तन सम्बन्धी गैरकानूनी कार्यको थप निरन्तरता रोक्न अहिले महानगर रोकथाम तथा नियन्त्रण सम्बन्धी कारवाहीको चरणमा रहेको उनले बताएका छन्।

 

 

 

पछिल्लो समय महानगरले महानगर प्रहरीको सहयोगमा पार्किङ व्यवस्थापनका लागि अनधिकृत संरचना हटाउँदै आएको छ।