रवीन्द्र मिश्रसहितका नेताहरु राप्रपा प्रवेश गर्दै

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीसँग विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रसहित पार्टीको उनी पक्षधर नेता तथा कार्यकर्ताहरु एक हुने भएका छन्।

 

 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि दोस्रो वरियतामा रहने गरी उपाध्यक्षका रुपमा मिश्रले आफ्नो आगामी राजनीतिक यात्रा अगाडि बढाउनेछन्।

 

निकट स्रोतका अनुसार विवेकशील साझाको नरम सम्बर्द्धनवादी पक्षधरले पार्टीसँग एकीकरण गर्ने भएको हो।

मिश्रसँगै ठूलो संख्यामा नेता-कार्यकर्ताहरु राप्रपामा ‘एक’ हुने एक उच्च नेताले जानकारी दिए।

 

राप्रपाभित्रकै केही उच्च नेताहरुको असहमतिका कारण एकीकरणको घोषणा हुन अझै केही दिनलाग्ने छ।

 

राप्रपामा हाल ६ उपाध्यक्ष रहे पनि मिश्र अध्यक्ष लिङ्देनपछि दोस्रो वरियतामा रहने बुझिएको छ। मिश्रसँगै विवेकशील साझाका उनी पक्षधर प्रदेश संयोजक पनि राप्रपामा मिसिनेछन्।

 

मिश्रलाई राप्रपाले काठमाडौं-१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने छ। संविधान दिवसको दिन मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक हुँदैछ । तर त्यसमा संविधानको मुख्य विशेषता संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रमाथि प्रश्न उठाइएको छ ।

 

२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए ।

त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए ।

सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए ।

त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए ।

 

यसपटक काठमाडौं-१ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन् । मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए ।

 

 

मिश्रले प्रकाशोन्मुख पुस्तक ‘विचार भन्दा माथि देश’ मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन्।