आज दिउँसो यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले आजको मौसम बुलेटिन जारी गरेको छ। हाल नेपालमा उत्तरपूर्वी राजस्थानको आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

हाल मौसमको अवस्था देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । प्रदेश १, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाका साथै यी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

त्यस्तै आज राती देशभर आंशिक देखी सामान्य बदली रहनेछ। कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र मधेश प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यस्तो छ आगामी २४ घण्टामा महाशाखाले दिएको चेतावनी तथा परामर्श

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाका साथै यी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त क्षेत्रहरूमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम हुनुका साथै सडक तथा हवाई यातायातमा सामान्य प्रभावको सम्भावना रहेको छ।

नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नुका साथै बाढी आउन सक्ने त्यस्तै गरि कृषि, पर्यटन, पर्वतारोहण लगायत दैनिक जनजीवन समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।