नेपालले रंगशालामा पाकिस्तानसँग मैत्रीपूर्ण फुटबल खेल्ने,मुख्य प्रशिक्षकमा कटुवाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पाकिस्तानविरुद्धको मैत्रीपूर्ण फुटबलका लागि प्रवेश कटुवाललाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

एन्फाले मंगलबार मैत्रीपूर्णका लागि कटुवाललाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिईएको जनाएको छ ।एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङले कटुवाललाई नियुक्ति पत्र दिएका थिए ।

कटुवालले मछिन्द्र फुटबल क्लबलाई ए डिभिजन लिगको उपाधि जितेका छन् ।नेपालले नोभेम्बर १६ (कात्तिक ३०) मा पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

मैत्रीपूर्ण खेल साँझ ५ बजे हुने एन्फाले जनाएको छ ।फिफाको निलम्बन फुकुवासँगै आठ वर्षपछि अन्तर्राष्ट्रिय फुटबलमा फर्किएको पाकिस्तान नेपाल आउन लागेको हो ।

निलम्बन फुकुवापछि पाकिस्तानको सिनियर पुरुष टिमको यो पहिलो अन्तराष्ट्रिय खेल हो ।मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीना दिएपछि नेपाल नियमित मुख्य प्रशिक्षक विहीन रहदै आएको छ ।

यस अघि बंगलादेशविरुद्धको मैत्रीपूर्णमा प्रदिप हुमागाईले टिम हेरेका थिए।