सन्दीप लामिछानेको बयान सकियो, बुधबार थुनछेक बहस

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ । मंगलबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बयान सकिए पनि थुनछेक बहस हुन नपाएपछि बुधबारका लागि उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो।

१७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो। २४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो।

मुलुकी अपराधसंहिता, २०७४ को दफा २१९ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै सन्दीपविरुद्ध १० देखि १२ वर्षसम्मको कैद सजाय र मनासिव क्षतिपूर्तिको मागदावी लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले सोमबार काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सोमबार दायर भएको रिटमा मंगलबार बयान र थुनछेक हुने भनिए पनि बयान सकिन दिनभर लागेपछि बुधबार मात्रै थुनछेक बहस हुने भएको हो ।

कार्यालय समय सकिएपनि सन्दीपको बयान साँझ ६ बजेसम्म नै गराएर मंगलबार बयान सकाइएको छ । अब बुधबार इजलास खुल्ने बित्तिकै थुनछेक बहस सुरु हुने काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

गत भदौ ५ गते रातीदेखि भदौ ६ गतेको बिहानसम्म एक १७ वर्षीय किशोरीलाई सिनामंगलको होटल काठमाडौँ इनमा बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध भदौ २२ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

जाहेरी परेको समयमा सन्दीप क्यारेबियन लिग खेल्न जमैकामा पुगेका थिए । प्रहरीमा जाहेरी परेपछि खेल नखेली फरार भएपछि नेपाल प्रहरीले सन्दीपविरुद्ध डिफ्युजन नोटिस समेत जारी गरेको थियो ।

प्रहरीले डिफ्युजन नोटिस जारी गरेपछि सन्दीप असोज २० गते काठमाडौँ आएका थिए । त्यसलगत्तै प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो ।

अधिकारप्राप्त अधिकारीसमक्षको बयानमा सन्दीपले किशोरीसँगै रात बिताएको बताए पनि करणी नभएको जिकिर गरेका छन् । यद्यपि किशोरीले भने सन्दीपले भदौ ६ गतेको बिहान (राति) ००ः२५ बजे र त्यसको एक घण्टापछि आफूमाथि दुईपटक जबरजस्ती करणी भएको जाहेरी र बयानमा उल्लेख गरेकी छिन्।