आज देशभरको मौसमको अवस्था कस्तो छ त ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको हल्का प्रभाव रहेको छ।आज (सोमबार) बिहान सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

त्यस्तै, बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार दिउँसो भने सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ ।

साथै बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, सुदूरपश्चिम, कर्णाली प्रदेशका हिमाली भूभाग र बाँकी प्रदेशहरुका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

सोमबार राति भने देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । साथै बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको छ । त्यस्तै, देशका हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।