स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भूमिका निर्वाह गर्न सबैलाई आह्वान गरेको छ ।

मानवअधिकार आयोगले देशका विभिन्न ठाउँमा अनुगमन गरेपश्चात निर्वाचनको पूर्वसन्ध्यामा निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आग्रह गरेको हो ।

आयोगले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबार हुने निर्वाचनबारे उच्चस्तरीय अनुगमन टोलीसहित ३२ वटा टोलीले सातै प्रदेशका ६७ जिल्लामा मतदानपूर्वको मानवअधिकार अवस्थाको अनुगमन गरी प्रारम्भिक जानकारी लिएको जनाएको छ ।

आयोगले गरेको प्रारम्भिक अनुगमनअनुसार बाँकेको नेपालगञ्ज र भोजपुरमा बम विष्फोट हुँदा ३ जना घाइते भएका, दार्चुलाको नौगाड गाउँपालिकामा सत्ता गठबन्धन र एमाले कार्यकर्ताबीच झडप हुँदा एकजना गम्भीर घाइते भएको, चितवनको भरतपुरमा स्वतन्त्र उम्मेदवार र कांग्रेसका उम्मेदवारको सवारी साधनमा आक्रमण गरिएको लगायतका घटना भएको विज्ञप्तिमा उल्लेख गरेको छ ।

यस्तै, दाङ, प्युठान, रसुवा, नुवाकोट, रामेछाप, डोटी, काठमाडौं लगायतका ७२ जिल्लामा ठूला दलका उम्मेदवारले नै निर्वाचन गतिविधिमा आचारसंहिता विपरित बालबालिकालाई प्रयोग गरेको जनाइएको छ ।

आयोगले मतदाता नामावलीमा नाम नभएका कारण कारागारमा रहेका कयौंै कैदीबन्दी मतदानबाट बञ्चित रहने जनाएको छ ।

मानवअधिकार आयोगले निर्वाचनमा असहमति जनाएका समूहका कार्यकताले जाजरकोट, रुकुम, रोल्पा, सल्यान लगायतका जिल्लामा स्थानीय नागरिकलाई मतदान नगर्न दबाब दिँदै सभा तथा कार्यक्रम गरिरहेको अनुगमनबाट देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

निर्वाचन आचारसंहिता उलंघन गर्दै निर्वाचन प्रचारप्रसार र बालबालिकाको प्रयोग विषयलाई नियमन र नियन्त्रण गर्न निर्वाचन आयोगको भूमिकाको आयोगले प्रसंशा गरेको छ ।