सिके राउत र रवि लामिछाने विगतका राप्रपा र मधेसी दलको बाटोमा

-ऋषि कट्टेल

सत्तावेगर एकदिन पनि उभिन नसक्ने नेपाली संसदवादी पार्टीको रोग नै लागेकाे छ।  उनीहरुले सरकारमा पुगेर अकुत सम्पत्ति आर्जन गर्न सकिने कुरा झलझली देखेका छन । जनतामा चुनावका बेला जनमुखि नारा उराल्ने र पछि सरकारमा पुगेपछि राज्यकाेषमा लुट मचाउने उनिहरूकाे पेशा नै बनेकाे स्पष्ट देख्न सकिन्छ।

त्यसैको आकर्षणमा जनमत बनाउने अनि त्यही जनमतलाई दोहन गरेर अकुत सम्पत्तिको मालिक हुने। यी सवै संसदवादी दलहरु भोट व्यापारी हुन। आफुलाई प्रजातान्त्रिक समाजवादी भन्ने काँग्रेस सामन्त दलाल तथा नोकरशाही पूजीवादको मुख्य रक्षक बनेको छ।

आफुलाई कम्युनिष्ट भन्दै उत्पीडित वर्गसमुदायको मुक्ति र देशको स्वाधीनताको रक्षाको नारा लगाउनेहरु आज दलाल पूजीवादको खेताला र विदेशी दलाल बनेका छन्।

जातीय क्षेत्रीय मुक्तिको नारा उरालेर बनेका जसपा,लोसपा जस्ता दलहरु यथास्थितिवादको दलाली गरेर सत्ताको तर मारिरहेका छन् । राजतन्त्र र हिन्दुराज्यको नारा उराल्ने राप्रपा धर्मनिरपेक्षता र गणतन्त्रवादीको जुटोपुरो खान याचना गरिरहेछ।

अहिले आएर कुशासन,भ्रष्टाचार र किसान मुक्तिको नारा लिएर जनमत वटुलेको सिके रावत भ्रष्टाचार र कुशासनको केन्द्र वालुवाटार र खुमलटार धाउन थालेको स्पष्ट देखिन्छ।

अव यी भ्रष्टहरुको विकल्प हामी दिन्छौ भ्रष्टाचारीहरुलाई जनताको कठघरामा उभ्याउछौ भन्दै केही जनमत वटुलेका रवि लामिछानेहरु पनि अर्को भ्रष्टाचारको केन्द्र वालकोट धाउने हुनकी वालुवाटर र खोमलटार नै धाउनेहुन टुंगो लगाउदै छन्। जनताले त्यसै संसदवादीहरुलाई जुन जोगी आएपनि कानै चिरेका भनेका हैनन।

 
राउत लामिछानेहरु यदी आफ्ना मुद्दा छाडेर सत्ताको मतियार बन्न पुगे भने कुनै संगठनात्मक जनाधार नभएका र एउटा लहरको भरमा जितेकाहरु आउने पाँच वर्ष नपुग्दै पानीको फोका विलाएझै विलाउने निश्चित देखिन्छ।