दोलखाबाट गठबन्धनका गङ्गा कार्की निर्वाचित

काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले निर्वाचित भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई पराजित गरेका हुन। माओवादीका कार्कीले ३६ हजार ७ सय ९९ मत ल्याएका छन्।

एमालेका शिवाकोटीले ३६ हजार ४ सय ८२ मत ल्याएका छन्। कार्कीले ३१७ मतान्तरले चुनाव जितेका छन्। यहाँ ८४ हजार ४ सय ४८ मत गणना गरिएको थियो। ३४७९ मत बदर भएको थियो।

यहाँ माओवादीका कार्की सत्ता गठबन्धनका साझा उम्मेदवार थिए। मुख्य निर्वाचन अधिकृत कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ।

समानुपातिकतर्फ भने मतगणना जारी छ। समानुपातिक मतपेटिकामा प्रत्यक्षतर्फका मतपत्र भेटिए पनि गणना गर्ने सर्वदलीय सहमति भएकोले औपचारिक घोषणा गर्न केही समय लाग्नेछ।

प्रदेश सभामा काफ्ले र केसी निर्वाचित

प्रदेश सभा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार कुन्दनराज काफ्ले निर्वाचित भइसकेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफ्ले, नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई ७ हजार ८७५ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन्। उनले २३ हजार २३१ मत पाएका छन् । नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।

प्रदेश सभा २ मा नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए ।