सिन्धुलीको कमलामाईमा श्रद्धालु भक्तजनहरुको घुइँचो

काठमाडौं । सिन्धुलीको ऐतिहासिक धार्मिक पर्यटकीय स्थल कमलामाईस्थानमा श्रद्धालु भक्तजनहरुको घुइँचो लाग्न थालेको छ ।

मध्यपूर्वी क्षेत्र खासगरी सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिराहा, उदयपुर, रामेछाप र दोलखा जिल्लाका श्रद्धालु भक्तजनहरू कमलामाईको पूजा अर्चना गरी भाकल बुझाउन कमलामाईमा आउन गर्न थालेका छन् ।

मंसिर महिनामा लागेसँगै कमलामाई स्थानमा पूजा अर्चना गरी सामुहिक वनभोज खानेहरुको समेत घुइँचो लाग्दै आएको छ ।

पवित्र धार्मिक तिर्थस्थलमा शुद्ध भई चोखो मनले कमलामाईस्थानको दर्शन गरे मनोकाङ्क्षा पूरा हुने जनविश्वास रही आएकोले कमलामाईस्थान आन्तरिक तथा बाह्य पर्यटकको आगमन हुँदै आएको छ ।

करिब १ हजार ३० वर्ष पहिले स्थापना भएको सिन्धुली जिल्लामा अवस्थित महत्वपूर्ण धार्मिक तिर्थस्थल कमलामाईस्थान ऐतिहासिक सिन्धुलीगढीसँग समेत सम्बन्धित मन्दिर मानिन्छ ।

बिक्रम सम्वत १९ सय पछि सिन्धुलीगढीमा बहाल रहेका बडाहाकिमहरुले कमलामाईस्थानमा विभिन्न भौतिक संरचनाहरु निर्माण गरेर र विभिन्न सर–सामानहरु चढाएर, कमलामाई स्थानमा सघाउ पुर्‍याएको उल्लेख छ ।