पाँचपटकको ‍विजेता ब्राजिललाई हराउँदै क्रोएसिया सेमिफाइनलमा

काठमाडौं। पाँचपटकको विजेता ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया फिफा विश्वकप २०२२ को सेमीफाइनलमा प्रवेश गरेको छ।

शुक्रबार राति कतारको राजधानी दोहास्थित एजुकेसन सिटी रंगशालामा भएको खेलमा ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोलले पराजित गर्दै क्रोएसिया अन्तिम चारमा पुगेको हो।

पेनाल्टी सुटआउटमा ब्राजिलका रोद्रिगोको प्रहार क्रोएसियाका गोलकिपर लिभाकोभिकले विफल पारेका थिए भने मार्किन्होसको प्रहार पोलमा लागेको थियो। ब्राजिलका लागि कासिमेरो र पेड्रोले मात्र गोल गरेका थिए।

क्रोएसियाका भने सबै खेलाडी पेनाल्टीमा सफल भए।

त्यसअघि निर्धारित र ३० मिनेटको अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।

ब्राजिलका लागि नेइमारले खेलको १०५औं मिनेटमा गोल गरेका थिए। सिक्स यार्ड बक्समा क्रोएसियाका गोलकिपरलाई छक्काएर उत्कृष्ट फिनिसिङ गर्नुअघि नेइमारले डिबक्स नजिकबाट उत्कृष्ट पास खेलेका थिए।

गोलसँगै नेइमारले ब्राजिलका लागि सर्वाधिक अन्तर्राष्ट्रिय गोल गर्ने पेलेको कीर्तिमानसँग बराबरी गरेका छन्। दुवैको अन्तर्राष्ट्रिय गोल संख्या ७७ पुगेको छ।

क्रोएसियाले ११७ मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि ब्रुनो पेट्रोभिकले डिबक्स भित्रबाट उत्कृष्ट फिनिसिङ गरेका थिए।

त्यसअघि निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलमा ३० मिनेट थपिएको थियो। थप समयअघि ब्राजिलले क्रोएसियामाथि लगतार दबाब दिए पनि फिनिसिङमा चुकेको थियो। ब्राजिलका प्रयासमा क्रोएसियाका गोलकिपर बाधक बनेका थिए।

गोल हुन नसकेपछि दबाबमा परेको ब्राजिलले दोस्रो हाफमा राफिन्हा, भिनिसियस जुनियर र रिचार्लिसनको स्थानमा एन्टोनी, रिद्रिगो र पेड्रोलाई मैदान प्रवेश गराएको थियो।

अब क्रोएसियाले अहिले केही बेरमा हुने अर्जेन्टिना र नेदरल्यान्ड्सबीचको दोस्रो क्वार्टरफाइनलको विजेतासँग सेमीफाइनलमा प्रतिस्पर्धा गर्नेछ।