आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचन प्रतिवेदन पेश

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुझाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको आयोगका पदाधिकारीको टोली शितल निवास पुगेर आज राष्ट्रपति भण्डारीसमक्ष प्रतिवेदन पेश गरेको हो।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आयोगले प्रतिनिधि सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति भण्डारीसमक्ष बुझाएका हुन । आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेश गरेको हो ।

सो अवसरमा राष्ट्रपति भण्डारीले लोकतन्त्रको सुदृढीकरणका निम्ति निर्वाचन महत्वपूर्ण रहेको बताइन् । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा खुसी व्यक्त गर्दै उनले यसका निम्ति निर्वाचन आयोग, सुरक्षा निकाय, सरोकारवाला निकाय र आममतदाता सबैलाई धन्यवाद दिइन् ।

प्रमुख आयुक्त थपलियाका अनुसार देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरूको विवरण आगामी पुस २ गते शनिवार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गरिने कार्यक्रम छ ।